दयाहाङको व्यस्त सेड्यूल, ‘कबड्डी ४’लाई समय खोई ?

नायक दयाहाङ राई विगत केही सातादेखि फिल्म ‘२ नम्बरी’को छायांकन गरिरहेका छन् । यो फिल्मको छायांकन सकेर उनी केही दिन चुनावका कारण आराम गर्नेछन् ।

तर, चुनाव सकिए लगतै उनले फिल्म ‘के घर के डेरा’को छायांकन सुरु गर्नुपर्नेछ । दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो फिल्मको आज मात्र शुभसाइत गरिएको छ । जेठ २ गतेबाट यो फिल्मको छायांकन सुरु हुँदैछ ।

दयाहाङको सेड्यूल निक्कै नै कसिलो छ । यसैलेगर्दा, उनले फिल्म ‘कबड्डी ४’लाई समय दिन भ्याइरहेका छैनन् । यो फिल्मको अन्तिम सिरिज भनिएको छ । यसपटक काजीको बिहे हुन्छ या हुँदैन भन्ने चासो धेरैलाई छ । तर, फिल्मका काजी अन्य फिल्ममा अत्याधिक व्यस्त हुँदा यो फिल्मलाई समय दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठेको छ ।

दया र सौगातले समय दिन नसक्दा ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा समेत उनीहरु सहभागी हुन सकेनन् । जेठको १३ गतेबाट ‘कबड्डी ४’ रिलिज हुँदैछ ।