‘हनी बनी’मा भित्रिइन् जसिता

फिल्म ‘आई एम ट्वान्टी वान’मा काम गरेर बसेकी नायिका जसिता गुरुङले बेलायतमा नयाँ फिल्म साइन गरेकी छिन् ।

उनले, बेलायतमा नै छायांकन हुन लागेको नेपाली फिल्म ‘हनी बनी’ साइन गरेकी हुन् । फिल्म छायांकनको तयारीका लागि बेलायत पुगेका निर्देशक दिवाकर भट्टराइले जसितालाई फिल्ममा अनुवन्धित गरेका हुन् । फिल्ममा उनीसँग रोमान्स गर्ने नायक अझै फाइनल भएका छैनन् ।

यो फिल्ममा सुरुवातमा नायक अनमोल केसी र नायिका सारा सिर्पाली फाइनल भएका थिए । तर, साराको बेलायतको भिसा लागेन । अनमोलले पनि नायिका नै फाइनल नभएको भन्दै फिल्म छाडे । यसपछि, यो फिल्म बन्छ या बन्दैन कुनै पनि टुंगो थिएन ।

तर, निर्माणपक्षले फिल्म बन्ने बताउँदै आएको थियो । जसिता फाइनल भएपछि फिल्म बन्ने संभावना फेरि बढेको छ । लभस्टोरी जनरामा निर्माण हुने फिल्मका लागि नायक पनि चाडै फाइनल हुने दिवाकरको कथन छ ।