‘ए मेरो हजुर ४’पछि नेपाली फिल्ममा छैनन् दर्शक

फिल्म ‘ए मेरो हजुर ४’ले दर्शक पाएपछि रिलिज भएका नयाँ नेपाली फिल्ममा दर्शक देखिएका छैनन् । यो फिल्मपछि ‘मन्त्र, लक्का जवान र षट्कोण’ रिलिजमा आएका थिए । तर, यी तिनै फिल्ममा दर्शकको संख्या न्यून देखिएको छ ।

हाँस्य कलाकारहरुले बनाएको फिल्म ‘लक्का जवान’ले दर्शक तान्ने अपेक्षा धेरैको थियो । तर, शिवहरि पौड्याल निर्देशित यो फिल्ममा पनि दर्शक आएनन् । ‘ए मेरो हजुर ४’ अघि गतबर्षको फागुण १३ गतेबाट रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले दर्शक तानेको थियो । त्यसपछि रिलिज भएका ‘लप्पन छप्पन २, चिसो एष्ट्रे, हेल्लो जिन्दगी’ लगायतका फिल्म बक्स अफिसमा नराम्रोसँग पछारिएका थिए ।

यो महिना पनि ‘मन्त्र, लक्का जवान र षट्कोण’ बक्स अफिसमा नराम्रोसँग पछारिएका छन् । साउथ र अंग्रेजी फिल्ममा भने दर्शकको चाप उल्लेख्य छ । तर, बलिउडका फिल्ममा पनि दर्शकको चाप खासै देखिएको छैन ।

वितरकहरुले चुनावका कारण दर्शक हलसम्म नआएको तर्क गरेका छन् । तर, फिल्मले दर्शकलाई हलसम्म तान्न नसक्दा यो समस्या देखिएको छ ।