फिल्म बन्ने कहिले कहिले, ‘सत्यम्’को गीत रिलिज अहिले

छायांकन सुरु हुने कुनै तयारी नै नगरिएको फिल्म ‘सत्यम्’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । नायक राजेश हमालको मात्र तस्वीर राखेर सार्वजनिक गरिएको भिडियोले फिल्म बन्दैन भन्ने हल्लालाई चिर्ने विश्वास निर्माता रेशम सापकोटाको छ ।

यो गीतले फिल्मको शिर्ष पात्रको बयान गरेको छ । राजेश हमाल फिल्मको शिर्ष भूमिकामा देखिने बताइएको छ ।

यो फिल्ममा नायक पल शाहको पनि मुख्य भूमिका रहने बताइएको थियो । तर, पल शाह थुनामा रहेको कारण फिल्मको छायांकन सुरु हुन नसकेको बहाना निर्माताले गरेका छन् ।

रेशमले पल नछुटेको अवस्थामा भने नयाँ नायक राखेर फिल्म बनाउने पनि बताएका छन् । फिल्मलाई शंकर कार्कीले निर्देशन गर्ने पक्का भएको थियो । तर, सार्वजनिक लिरिकल भिडियोमा उनको नाम राखिएको छैन ।

यो फिल्ममा राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने बताइएको छ । रेशमले फिल्मको गीतमा आफ्नो बाहेक अरु कसैको पनि नाम नराखेको र पत्रकार सम्मेलन गरेर सबै जानकारी दिने बताएका छन् ।

रेशम फिल्मको अन्य टिम हेरफेर गरेर छायांकन सुरु गर्ने तयारीमा रहेको वुझ्न सकिन्छ ।

यो फिल्मका लागि पोखरामा भव्य सेट समेत तयार पारिएको थियो । तर, विभिन्न कारणले फिल्मको छायांकन नै सुरु हुन सकेन । निर्माणपक्षको नयाँ शैलीले फिल्म सुरु हुने कहिले कहिले, गीत रिलिज अहिले भने जस्तै भएको छ ।