‘ए मेरो हजुर ४’लाई प्रदर्शकले मन लाग्दा हलबाट निकाले, फेरि राखे

‘हाम्रो फिल्म २५ औं दिनमा पनि हलमा रिलिज भैरहेको छ । फिल्मलाई माया दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद ।’

निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले फिल्म हलमा रिलिज भैरहेको जानकारी दिदै लेखेको स्टाटस हो यो । उनीहरुले यसो लेख्नुको पछाडि एउटा कारण छ । त्यो के भन्दा, वैशाख २३ गते नयाँ ३ फिल्म रिलिज भएपछि प्रदर्शकले यो फिल्मलाई हलबाट हटाएका थिए । तर, नयाँ फिल्मले दर्शकको ध्यान तान्न नसकेपछि वैशाखको २५ गतेबाट ‘ए मेरो हजुर ४’ले क्यूएफक्स चेनका विभिन्न पर्दामा स्थान पायो । सुनिल र झरनाले यही कुराको खुशी व्यक्त गरे । अर्थात, फिल्म हलबाट मन लाग्दा प्रदर्शकले निकाल्ने र आफूलाई मन लाग्दा फेरि रिलिज गरिदिने परिपाटी यहाँ पनि देखियो ।

‘ए मेरो हजुर ४’ प्रदर्शकबाट सबैभन्दा बढी चेपुवामा परेको फिल्म हो । यदि, प्रदर्शकले यो फिल्ममाथि विभेद नगरिदिएको भए यसको व्यापार अझै बढ्ने थियो ।
यसअघि ‘म यस्तो गीत गाउँछु २’माथि पनि प्रदर्शकको यस्तै रवैया देखिएको थियो । उनीहरुले, यो फिल्मलाई हलबाट हटाएको केही दिनपछि फेरि केही शहरमा रिलिज गरेका थिए ।

फिल्म चल्दा चल्दै हटाइदिने अनी नयाँ फिल्मले गतिलो व्यापार नगरेपछि फेरि हलमा रिलिज गरिदिने प्रदर्शकको शैलीमा निर्माता खुशी हुने गरेका छन् । फिल्म फेरि पर्दामा फर्किएकोमा खुशी हुँदै उनीहरु दर्शकलाई फिल्म हेरिदिन आग्रह गरिरहेका हुन्छन् ।

यदि, दर्शक राम्रै आइरहेका थिए भने हलबाट फिल्म किन हटाइन्छ ? अनी, नयाँ फिल्मले कमाई गरेन भनेर फेरि हलबाट हटाइएको फिल्म किन रिलिज गरिन्छ ?

फिल्म तेश्रो हप्ताबाट माथि लागेपछि निर्मातालाई भन्दा प्रदर्शकलाई बढी फाइदा हुन्छ । यसैले, हलमा फेरि फिल्म लगाउँदा प्रदर्शकले बढी फाइदा लिने गरेका छन् । निर्माता भने कम शेयर पाएर पनि फिल्म फेरि हलमा लागेकोमा खुशी भैरहेको पाइन्छ ।