‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स जाँदै सुरक्षा

अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाने भएकी छन् ।

यस पटक सुरक्षाले मे १७ देखि २८ मे सम्म हुने फिल्म फेस्टिभलको ७५ औँ संस्करणमा रेड कार्पेटमा हिस्सा हुनेछिन् ।

सुरक्षाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस अपडेट गर्दै भनेकी छिन्, ‘कान्स फिल्म फेस्टिभलमा २०२२ मा सहभागी हुन जाँदै छु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौडधुपमा मसंगै दौडिने सहयोगी साथीहरुलाई माया अनि सम्मान छ।’

‘केहि समय अघि एउटा अन्तराष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थियो। “The Eight Mountains” जसको केही अंश नेपालको मनाङ्गमा छायांकन गरिएको थियो। उक्त फिल्म कान्स फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छानिएको खबर पाए संगै निमन्त्रणा आयो अनि जाने तय गरे।’

‘फिल्मको प्रिमियर कान्स जेठ ४ मा हुनेछ। मसंग तितो मिठो अनुभव छ जुन कुनै दिन हजुरहरु माझ सुनाउँला, भोलि जाँदै छु। उताको यात्राको पनि मसंग बहुमुल्य अनुभव हुनेछन्।’

यो वर्षको कान्स फिल्म फेस्टिभलमा पाँच पुरुष र चार महिला रहेको निर्णायक मण्डलले यस वर्षको पाल्मे डी’ओर अवार्डको विजेता छनोट गर्नेछ ।