अभिनेत्री ज्याकलीन नेपाल नआउने, उनको ठाउँमा यी अभिनेत्री आउँदै

बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिज नेपाल नआउने पक्का भएको छ ।

उनी जेठ १४ गते दशरथ रंगशालामा हुने सलमान खानको ‘दबंग टुर रिलोडेड’ सहभागी नहुने भएकी हुन्। ज्याकलिन सलमानको दबंग टुरको सदस्य मध्य एक हुन्। आयोजकहरूले ज्याकलीनको तस्बिर राख्दै दबंग टुरको प्रचार गरिरहेका थिए।

उनले विदेश यात्राको अनुमति माग्दै अदालतमा दायर गरेको निवेदनलाई बुधबार फिर्ता लिएकी छन्। अदालतमा मनी लाउन्ड्रिङ सम्बन्धी विचारधिन मुद्दाको छानविन निरन्तर हुने भएपछि ज्याकलिनका वकिलले विदेश यात्राको अनुमति सम्बन्धी निवेदन फिर्ता लिएका हुन् ।

ज्याकलिनले विदेश जाने अनुमतिका लागि दिल्लीको पटियाला हाउस कोर्टमा निवेदन दिएकी थिइन् । मनी लाउन्ड्रिङ केसमा मुछिएकी उनले नेपाल, आबुधाबी र फ्रान्स यात्रामा जान अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गरेकी थिइन्। उनको केसको सुनुवाई भए पनि अदालतबाट केही आदेश नआएपछि उनले आफै निवेदन फिर्ता लिएकी हुन्।

प्रमाणीकरणको समयमा ज्याकलिन विदेश जानुको कारण ‘ईडी’ले फेला पारेन। ज्याकलिनले आफू नेपाल दबंग टुरमा जानुपर्ने बताएकी थिइन् । तर अनुसन्धान एजेन्सीले ज्याकलिनको दाबीलाई अस्वीकार गरेको छ। ईडीले ज्याकलिन दबंग टुरको पनि हिस्सा नभएको खुलासा गरेको छ । अनुसन्धान एजेन्सीका अगाडि झुट बाहिर आएपछि ज्याकलिनले अदालतमा दिएको आफ्नो निवेदन फिर्ता लिनु परेको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।

ज्याकलिनले १५ दिनको लागि अनुमति मागेकी थिइन् । उनका अनुसार मे २०-२१ मा अबुधाबीमा हुने आइफा अवार्डमा सहभागी हुन चाहन्थिन् । अबुधाबी बाहेक ज्याकलिन फ्रान्स, नेपाल जानुपर्ने थियो । यस्तै, ज्याकलिन कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएकी थिइन् । साथै, नेपालमा दबंग टुरमा सामेल हुने कुरा पनि भएको थियो।

तर, ठगी मुद्दामा पक्राउ परेका सुकेश चन्द्र शेखरसँग सम्बन्ध भएको भन्दै उनलाई इडीले देश छोडेर जान रोक लगाएको थियो। केही दिन अगाडि इडीले उनको ७ करोड २७ लाख भारतीय रुपैयाँको सम्पत्ति समेत जफत गरेको थियो। सुकेशले ज्याकलिनलाई ५ करोड ७१ लाखको उपहार दिएका थिए।

अब ज्याकलीनको ठाउँमा दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे आउने बताइएको छ।