एकै दिन दुई रियालिटी सो को घोषणा

अमेरिकामा सफल दुई रियालिटी सो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ नेपाल भित्रिएका छन् ।

बुधवार राजधानीमा एक कार्यक्रमका बीच यी दुई रियालिटी शो नेपाल आएको जानकारी गराइयो । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ भने टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुती दिनेछन् । दुवै कार्यक्रमको फाइनल भने अमेरिकामा हुनेछ ।

‘मेरो डान्स कप युएसए’को निर्णायकमा कलाकारहरु मिथिला शर्मा, दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, शंकर विसी र नमन राई छन् । त्यस्तै, ‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, मुस्कान मगर, सुजता बर्मा र अर्जुन पालिखे रहेका छन् । दुवै कार्यक्रम ग्यालेक्सी फोरके टेलिभिजनबाट प्रशारण हुनेछन् ।

दुवै प्रतियोगिताको प्रथम विजेताले र्याभफोर कार, दोस्रोले गोल्डेन कप र तेस्रोले सिल्भरकपसँगै नगद राशी र गिफ्ट पाउने आयोजक संस्था इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका सचिव गोपाल धितालले जानकारी दिए । तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ सशक्त रुपमा प्रस्फुटन गर्न र नेपाली भाषीमा भएको प्रतिभालाई उजागर गर्न यी दुई रियालिटी शो आयोजना गरिएको उनको भनाई छ । यि कार्यक्रमबाट संसारभर रहने नेपालीभाषीहरुको एक आपसको सद्भाव कायम रहन मद्दत गर्ने हाल अमेरिकामा नै रहेका इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले बताए ।

‘मेरो डान्स कप’लाई सुदीप सिग्देल र सुनिता गुरुङले सञ्चालन गर्नेछन् भने ‘मेरो भ्वाइस कप’को उद्घोषण गर्ने अभिभारा सन्दिप क्षेत्री र रीमा विश्वकर्माले पाएका छन् । दुवै रियालिटी शोको निर्देशन भने एलिन श्रेष्ठले गर्नेछन् । निर्देशक श्रेष्ठले नेपालमा दुवै रियालिटी शोको छायांकन गर्नका लागि अहिले सेट निर्माणको काम भइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय रियालिटी शोलाई अझ स्तरीय बनाउन आफूले कुनै कसर नछाड्ने उनको भनाई छ । यि दुवै रियालिटी शोको नेपाल ब्यवस्थापन यस संस्थाको नेपाल च्याप्टरका कार्यकारी अध्यक्ष सन्जीत भन्डारीले गर्नेछन् भने प्रेस संयोजक जीवन पराजुली हुन् ।

‘मेरो डान्स कप’को निर्णायकमध्ये एक इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन नेपालका अध्यक्ष दीलिप रायमाझीले नेपालभन्दा बाहिर बस्ने नेपालीहरुलाई नेपाली कला, संस्कृतिसँग जोडिराख्न यी दुई रियालिटी शोले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी नेपालीहरु विभिन्न कारणले विदेशिनु परेको छ । हामीसँगै सन्तानहरु पनि विदेशिएका छन् । र, ती सन्तानहरु ठूलो भएपछि त्यहीको कला, संस्कृतिलाई अपनाउन थाल्दछन् । जसले गर्दा हाम्रो भाषा, कला संस्कृति विर्सिँदै जान्छन् । यसैलाई जोगाउनु नै नृत्य र गायन रियालिटी शोको उद्देश्य हो ।’

त्यस्तै, ‘भ्वाइस कप’को निर्णायकमध्ये एक दीपक जंगमले नेपाली भाषा, कला र संस्कृतिलाई एक सुत्रमा बाँध्ने रियालिटी शोमा आफू आबद्ध हुन पाएकोमा खुशी व्यक्त गरे । विदेशमा जन्मे हुर्केका नेपालीलाई नेपाली भाषा, कला, संस्कृतिको जागरण फैलाउन ‘मेरो डान्स’ र ‘मेरो भ्वाइस कप’ले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । ‘भ्वाइस कप’का अन्य दुई निर्णायक सुरेश अधिकारी र शिव परियारले पनि कला, संस्कृतिलाई बचाउने रियालिटी शोमा आबद्ध हुन पाएको खुशी व्यक्त गरे ।