‘छक्का पन्जा ४’लाई असारमा सुटिङ गरेर दशैंमा रिलिज गर्ने तयारी

निर्माता, लेखक तथा कलाकार दीपकराज गिरी फिल्म ‘छक्का पन्जा ४’को स्क्रिप्ट लेखनमा जुटेका छन् । स्थानीय निर्वाचनमा मतदान गरेपछि उनी फेरि फिल्मकै कथा लेख्नमा व्यस्त भएका हुन् ।

यो फिल्मको छायांकन असारबाट सुरु गर्ने योजना उनको छ । यसैका लागि उनी स्क्रिप्टलाई बलियो बनाउन लागिपरेका हुन् ।

दीपाश्री निरौलाले निर्देशन गर्ने यो हिट सिरिजको चौथो भागलाई दीपकले समय अनुसारको कथामा बुनिरहेका छन् । दीपकराज र उनको टिमबाट दर्शकको अपेक्षा पनि धेरै हुने भएकाले उनलाई दबाब बढेको हो ।

अघिल्ला ३ सिरिजले व्यापारिक रुपमा नयाँ रेकर्ड राखेकाले पनि चौथो सिरिजलाई अझै उत्कृष्ट बनाउनुपर्ने दबाब गिरीलाई छ ।

यो फिल्मलाई असारमा छायांकनमा लैजान सके दशैंमा रिलिज गर्न सकिने योजना उनीहरुको छ । उसो त, फिल्मको टिजर हलमा बज्न थालेको लामै समय भैसकेको छ ।

दीपकराज गिरीको फिल्म भन्ने वित्तिकै दर्शकले पनि दशैंमा रिलिजको अपेक्षा गर्छन् । यसैले, पनि दीपक धमाधम कथा लेखिरहेका छन् ।

रोहित अधिकारीसँग उनले मिलेर बनाउने भनेको फिल्मको काम स्थगीत भएपछि उनी आफ्नै होम प्रोडक्शनको फिल्मतिर लागेका हुन् ।