निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित

निर्माता तथा निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन्।

मधुसूदन नामले परिचित शर्मा स्थानीय तहको निर्वाचनमा दाङ घोराही उपमहानगरपालिकाको वडा नं. ४ मा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले १ हजार ५ सय २५ मत ल्याउँदै वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा रहेका घिमिरे सामाजिक तथा राजनीतिक काममा सक्रिय छन्। वडाध्यक्षमा निर्वाचित भएपछि घिमिरेले सामाजिक सञ्जाल मार्फत आफ्ना मतदातालाई धन्यवाद दिँदै आफ्नो वडालाई देशकै नमुना वडा बनाउने घोषणा पनि गरेका छन्।

सन् २००८ मा फिल्म ‘खबरदार’ बाट फिल्म निर्देशन तथा निर्माणमा डेब्यू गरेका थिए। घिमिरेले त्यसपछि सन् २०१० मा फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ निर्माण गरेका थिए । उनी निर्देशित पछिल्लो फिल्म ‘इच्छा’ हो ।

उनले फेसबुकमार्फत लेखेका छन्, ‘मलाई आफ्नो अमूल्य भोट दिएर ४ नम्बर वडाध्यक्ष बनाउनु भएकोमा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु,’ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कला क्षेत्रबाट पनि धेरै कलाकारले उम्मेदवारी दिएका थिए। घिमिरेसँगै अभिनेता राज घिमिरे गोदावरी वडा नं. ३ को वडाध्यक्षमा निर्वाचित भएका छन्, हाँस्य कलाकार तथा निर्देशक किशोर भण्डारी कागेश्वरी नगरपालिका वडा नं. ९ को वडा सदस्यमा निर्वाचित भएका छन्।

त्यस्तै र्यापर बालेन साह काठमाडौंको मेयर पदमा स्वतन्त्र रुपमा उठेका छन्। नेकपा एमाले, नेपाली कांग्रेस जस्ता ठूला पार्टीका उम्मेदवारलाई झण्डै दोब्बर मतले पछि पार्दै बालेनले अग्रता लिइरहेका छन्।