आजबाट हलमा ‘लाइफ एन एलए’ र बलिउडका दुई फिल्म

आज शुक्रबारबाट नेपालका सात दर्जन बढी  हलमा नेपाली फिल्म ‘लाइफ इन एलए’ प्रदर्शन भएको छ। यो साता लाइफ इन एलए नेपाली फिल्मले एकल प्रदर्शनी हुने अवसर पाएको छ ।

लाइफ इन एलएसँगै आज नेपालमा अरु दुई नयाँ फिल्म रिलिज भएका छन् । जसमा बलिउडका दुई फिल्म कंगना रनावत अभिनित ‘धाकड’ र कार्तिक आर्यन अभिनित ‘भुल भुलैया २’ छन् । अर्को नेपाली फिल्म सम्झना बिर्सनाको रिलिज मिति सरेको छ ।

विगत डेढ दशकदेखि अमेरिकामा बस्दै आएका नेपाली निर्देशक सूर्य नारायण श्रेष्ठले यो फिल्म निर्देशन गरेका हुन् ।

त्रिकोणात्मक प्रेमकथा आधारित यो फिल्म विभिन्न सिलसिलामा अमेरिका पुगेका नेपालीको कथालाई प्रस्तुत गरिएको छ । फिल्म ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, शिल्पा मास्के, अकेशा विष्ट, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय रहेको छ।

फिल्म रिलिजअघि बुधबार बेलुका ललितपुरको क्युएफएक्स लविम मलमा प्रिमियर गरिएको थियो । फिल्मले प्रिमियर सोमा मिश्रित प्रतिक्रिया पाएको छ ।

फिल्म हेरेपछि निर्देशकहरू दीपाश्री निरौला, प्रकाश सायमी, दीपक श्रेष्ठले विदेशमा बसेर पनि नेपाली जीवन कथाको फिल्म सूर्यले तयार गरेको बताए ।

प्रिमियर सोमा यो फिल्म हेरेपछि पूर्वडीआईजी रमेश खरेलले निर्माता ब्यास बिस्सुले आफ्नो लाइफसँग जोडेर फिल्म बनाएकाले कति दृश्यमा आफू गम्भीर र भावुक भएको बताए ।

अभिनेता सन्दीप क्षेत्री, नेपाली फुटबल टिमका पूर्वकप्तान विराज महर्जन, खेलाडी भरत खवास, नेपाली महिला फुटबलर अञ्जना थापा मगरले यो फिल्म हेरेपछि नेपालीहरूले अमेरिकामा कतिसम्म संघर्ष गर्नुपर्नेरहेछ भन्ने’bout छर्लंग भएको प्रतिक्रिया दिए ।

प्रिमियर सोमा बोल्दै यो फिल्मका सूर्यनारायण श्रेष्ठले अमेरिका जान चाहनेहरूले यो फिल्म हेर्दा धेरै कुरा सिक्न र बुझ्न सकिने बताएका छन् । फिल्ममा सबैले अमेरिका कस्तो छ भनेर सोच्छन्, फिल्मले त्यो देखाएको छ । मैले पनि अमेरिका जाँदा कति दुःख पाएको थिएँ भन्ने कुरा यो फिल्मबाट देखाएको छु ।’

फिल्मको ६० प्रतिशत छायांकन अमेरिकाको लस एन्जलस (एलए) र बाँकी छायांकन नेपालमा गरिएको हो । अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म लाइफ इन एलएको निर्माता ब्यास बिस्सु, कार्यकारी निर्माता संसार सुवेदी, हुन् ।

फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास, प्रविसा अधिकारी र कविता श्रेष्ठ स्वर छ । फिल्मको अमेरिकाको भाग छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन्, भने नेपालको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । जसमा भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन, कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । यो फिल्मले अमेरिकाबाट ८० प्रतिशत लगानी उठाएपछि नेपालमा रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

यस्तै, बलिउड अभिनेता कार्तिक आर्यन, अभिनेत्री कायरा आडवाणी र तबुको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘भुलभुलैया २’ कमेडी हरर फिल्म हो । दुई अपरिचित पात्रहरु रुहान र रीतको उतारचढावपूर्ण यात्रामा फिल्म आधारित छ । यी दुई पात्रको त्रासदी कसरी कमेडीमा परिणत हुन्छ भन्ने चित्रण यसमा छ ।

अभिनेत्री कंगना रनावत स्टारर ‘धाकड’लाई रजनीस घइले निर्देशन गरेका हुन् । एक्सन–थ्रिलर यो फिल्ममा कंगनासहित अर्जुन रामपाल र दिब्या दत्तको समेत मुख्य भूमिका छ । अन्तर्राष्ट्रिय अपराधीलाई समात्न हुने मिसनको कथामा फिल्म आधारित छ ।