दशैंमा ‘प्रेमगीत ३’

फिल्म ‘प्रेमगीत ३’को टिमले प्रदर्शन मिति तय गरेको छ । यो फिल्म असोजको ७ गतेबाट रिलिज हुने भएको छ । दशैंको अवसरमा यसपटक नायक प्रदीप खड्का दर्शकमाझ आउने भएका छन् । यसअघि यो फिल्मको प्रदर्शन मिति गतबर्षको फागुणको १३ गतेलाई तोकिएको थियो । तर, भारतमा समेत हिन्दी भाषमा रिलिज गर्ने भन्दै फिल्मको प्रदर्शन मिति पर सारिएको थियो ।

सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशनमा बन्ने यो फिल्मले दशैंलाई प्रदर्शन मिति तय गरेसँगै यो मितिमा नेपाली फिल्मको रोचक भिडन्त हुने देखिएको छ । ‘परदेशी २’ पनि दशैंमा नै रिलिज हुँदैछ ।

यो फिल्ममा प्रदीप खड्का, नव–नायिका कृष्टिना गुरुङ, नायक शिव श्रेष्ठ, कलाकार सुनिल थापा, नव–नायक मनिष राउत, अनुभव रेग्मी लगायतको अभिनय छ ।

‘प्रेमगीत’का दुबै वटा सिरिज सुपरहिट भैसकेका छन् । यसैले, यसको तेश्रो सिरिज पनि सर्वाधिक प्रतिक्षामा छ । वि.सं २०७६ सालको चैत्र २८ गतेलाई प्रदर्शन मिति तय गरेपनि कोरोना महामारीका कारण तोकिएको मितिमा यो फिल्म रिलिज हुन सकेको थिएन ।