दीपक भन्छन्–‘छक्का पन्जा ४ दशैंमा नै आउँछ’

नेपाली फिल्म क्षेत्रमा सर्वाधिक कमाई गर्ने फिल्म हो, ‘छक्का पन्जा ३’ । अझ, यो फिल्मका तिनै वटा सिरिजले सर्वाधिक कमाईको रेकर्ड राखेका छन् । अब, यो फिल्मको चौथो सिरिज पनि बन्दैछ । निर्माता तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’को स्क्रिप्ट लेखिरहेका छन् । असारबाट यो फिल्मको छायांकन सुरु गर्ने तयारी उनीहरुको छ ।

यो फिल्मलाई दशैंमा रिलिज गर्ने तयारी दीपकको छ । तर, आइतबार मात्र ‘प्रेमगीत ३’को निर्माणपक्षले दशैंमा फिल्म रिलिज गर्ने घोषणा गरेपछि अब यही मितिमा ‘छक्का पन्जा ४’ आउँछ या आउँदैन भन्ने अड्कल सुरु भएको छ ।

तर, फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले भने ‘छक्का पन्जा ४’ दशैंमा नै रिलिज हुने बताएका छन् । असारमा छायांकन गरेर दशैंमा फिल्म रिलिज गर्ने आफूहरुको योजना नसरेको उनको कथन छ । निर्माता सन्तोष सेनले वितरकसँग छलफल गरेर दशैंमा फिल्म रिलिजको मिति तोकेका हुन् । यसैले, दीपकराज गिरी र सन्तोष सेनविच यो बिषयमा कुनै पनि कुरा नभएको वुझिएको छ ।

यदि, ‘छक्का पन्जा ४’ पनि दशैंमा नै रिलिज भयो भने नेपालीहरुको महान चाडमा तिन हिट फिल्मका सिरिजको प्रतिस्पर्धा हुनेछ । ‘परदेशी २’ले पनि दशैंलाई प्रदर्शन मिति तोकिसकेको छ ।