धमाधम फिल्मको काम सकेर अमेरिका उड्ने तयारीमा वर्षा

नायिका वर्षा सिवाकोटीले आइतबार मात्र फिल्म ‘ए साथी सुन’को डबिङ गरिन् । उनले, अभिनय गरेका अन्य २ फिल्म ‘मनसँग मन र परदेशी २’ रिलिजको तयारीमा छन् । फिल्म ‘लक्का जवान’ रिलिज भैसक्यो ।

नायिका सिवाकोटी बिहेपछि अमेरिका जाने तयारीमा छिन् । उनका श्रीमान् लामो समयदेखि अमेरिकामा नै बसोबास गर्ने भएकाले उनी पनि अमेरिका नै हानिन लागेकी हुन् । यसैले, उनले आफ्ना फिल्मका बाँकी रहेका काम सकिहाल्ने योजना बनाएकी हुन् । वर्षाका अनुसार, उनी केही दिनमा नै अमेरिका उड्ने तयारीमा छिन् । यसका लागि उनले रोकिएका काम सक्ने योजना बनाएकी हुन् ।

नेपाली फिल्म क्षेत्रमा अपेक्षित सफलता नपाएकी वर्षा अब पहिले जस्तो यो क्षेत्रमा व्यस्त हुने र यो क्षेत्रलाई नै समय दिने सोचमा छैनन् । जहाँ श्रीमान्, आफू त्यही हुन्छु भनेर मिडियासँग बयान दिइसकेकी वर्षाले ‘ए साथी सुन’को काम पनि सक्न यसकारण हतारो गरेकी हुन् ।