स्थानीय कर हटाइदिन बालेनलाई बोर्ड अध्यक्षको आग्रह

काठमाडौं महानगरपालिकाको भावी मेयरको रुपमा हेरिएका र जितको नजिक पुगेका बालेन्द्र शाह आज आयोजना भएको फिल्म ‘चिसो मान्छे’को ट्रेलर रिलिज कार्यक्रममा पुगे । सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले उनीसँग २ वटा अपेक्षा सुनाए ।

बालेनलाई शुभकामना दिदै दयारामले भने–‘नेपाली फिल्ममा ५ प्रतिशतका दरले स्थानीय कर लाग्छ । त्यो कर हटाइदिन म बालेन शाहसँग आग्रह गर्दछु । उक्त कर निर्माताको शेयरमा नै आउनेगरि हटाइदिनुहोला ।’

यस्तै, दाहालले काठमाडौं महानगरका ३२ वटा वडाका ६४ स्थानमा डिजिटल होर्डिङ बोर्ड राख्ने व्यवस्था गरिदिन पनि आग्रह गरे । यसका लागि विकास बोर्डले महानगरसँग समन्वय गर्ने उनको भनाई छ ।

बालेन शाह कला क्षेत्रसँग जोडिएको मानिस भएकाले पनि उनीसँग कला क्षेत्रले अपेक्षा खुबै गरेको छ । बालेनले पनि नेपाली कला क्षेत्रको प्रमोशन गर्ने बताए । उनले, नेपाली कलालाई पनि विश्वका चर्चित ओटीटी प्लेटफर्ममा लैजान आवश्यक रहेको सुनाए ।