‘आमा’पछि दीपेन्द्रको लाइनअपः ‘चिसो मान्छे, के घर के डेरा, आमा २’

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘आमा’ले बक्स अफिसमा मात्र सुखद कमाई गरेन, राष्ट्रिय चलचित्र पुरस्कार समेत पायो । यो फिल्मले दर्शक र समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाइसकेपछि दीपेन्द्रमाथि दबाब थपिएको छ । यसैले, उनले सोचेर दर्शक सुहाउने र समाजको कथा बोल्ने फिल्म बनाइरहेका छन् ।

उनै, दीपेन्द्रले निर्देशन गरेको अर्को फिल्म ‘चिसो मान्छे’को ट्रेलर सोमबार रिलिज भयो । यो फिल्मको ट्रेलरले दर्शक, फिल्मीकर्मी र मिडियाकर्मीको मन जित्यो । असार ३ गतेबाट रिलिज हुने फिल्मलाई लिएर दर्शक उत्साहित छन् । बक्स अफिसमा फिल्मले राम्रो कमाई गर्ने आशा गरिएको छ ।

उनै, दीपेन्द्र विगत केही दिनदेखि फिल्म ‘के घर के डेरा’को छायांकन गरिरहेका छन् । यो फिल्ममा उनले दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्तलाई अभिनय गराइरहेका छन् । काठमाडौं वरपर नै खिचिएको यो फिल्मले पनि समाजको कथा भन्नेछ ।

यो फिल्म लगतै दीपेन्द्र ‘आमा २’ नामक फिल्म बनाउने तयारीमा छन् । निर्मात्री शर्मिला पाण्डेले ‘आमा २’को छायांकन चाडै नै सुरु हुने जानकारी दिइन् । यो फिल्मबाट पनि दर्शकको अपेक्षा उचाईमा पुग्ने पक्का छ ।
यसरीहेर्दा, निर्देशनमा नै ब्रान्ड बनाइसकेका दीपेन्द्रको फिल्मी लाइनअप गज्जबको देखिएको छ ।