‘कबड्डी ४’ फाइनल म्याच, तर बन्नेछ ‘कबड्डी ५’

‘कबड्डी ४’लाई फाइनल म्याच भनिएपनि निर्देशक रामबाबु गुरुङले यसको पाँचौ सिरिज पनि बनाउने संकेत गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा रामबाबुले यो हिट सिरिजको श्रृङ्खला सकिएको बताउन सकेनन् । तर, उनले ब्रान्डको लोभ र पैसाको लोभ भने हुने बताए ।

के ‘कबड्डी ५’ पनि बन्छ त, रामबाबुले भने–‘मलाई बनाउन मन छैन । तर, बन्दैन भन्ने त नहोला । नयाँ कथामा पाँचौ श्रृङ्खला बन्न सक्छ ।’ फिल्मका निर्माता मणिराम पोखरेलले एउटा खेल सकिएपनि अर्को खेल सुरु हुन सक्ने बताए ।
नायक दयाहाङ राइले भने पाँचौ श्रृङ्खलाको जिम्मा क्याप्टेन गुरुङलाई नै दिने बताएका थिए ।

‘कबड्डी’को चारै वटा सिरिज सुपरहिट छन् । यसैले, निर्माता र निर्देशकले यो हिट ब्रान्डलाई बन्द गर्ने सोच नबनाउने संकेत गरेका छन् । तर, काजीको बिहेको कथाबाट नयाँ कथामा फिल्म निर्माण हुन भने सक्नेछ ।