मिलनको फिल्म नखेल्दासम्म आँचल नायिका नै थिइनन् त ?

नायिका आँचल शर्मा बुधबार आयोजित फिल्म ‘वर एण्ड वधु’को कार्यक्रममा हट बनेर पुगिन् । यो फिल्मकै लागि आफ्नो तौल १० केजी घटाएकी नायिकाको कालो रंगको पहिरनले उनको सुन्दरता झनै चम्काएको थियो । निर्देशक मिलन चाम्सले कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी राखेनन् । रेड कार्पेटमा कलाकारलाई भव्य तरिकाले प्रवेश गराएका मिलनको शैलीले आँचललाई लोभ्यायो ।

कार्यक्रममा बोल्दै आँचलले भनिन्–‘यो कार्यक्रमको भव्यता हेर्दा बल्ल मलाई नेपाली फिल्म क्षेत्रको नायिका हुँ जस्तो लाग्यो ।’ यसअगाडि आधा दर्जन बढी फिल्म खेलेकी आँचलले आफूलाई नायिका नै महशुश गरेकी थिइनन् त भन्ने प्रश्न उब्जिएको छ ।

आँचलले भने आफूले यस्तो भव्यता यसअगाडि महशुश गर्न नपाएकाले यस्तो महशुश गरेको तर्क गरिन् । तर, सफल नायिका हुनका लागि भव्य कार्यक्रममा हिड्नु मात्र आवश्यक हो र ? उत्कृष्ट अभिनय र बक्स अफिस हिट फिल्मले कलाकारको पहिचान झल्काउने होला ? कि, आँचल भव्य कार्यक्रममा नै अल्झिरहने हुन् ?