‘दलाल’ भन्नेलाई राठीको जवाफ–‘रोएर फिल्म चल्दैन’

वितरक मनोज राठीलाई केही फिल्मीकर्मीहरु हिन्दी फिल्मलाई प्रशय दिएर नेपाली फिल्मलाई पाखा लगाउन लागिपरेको आरोप लगाउँछन् । राठीलाई कतिपय फिल्मीकर्मीले त ‘दलाल’ भन्ने शब्द पनि प्रयोग गर्छन् ।

फिल्म ‘ए मेरो हजुर ४’ रिलिजको समयमा साउथको फिल्म ‘केजीएफ २’ ल्याएर राजनीति गरेको आरोप समेत उनमा लाग्यो । यस अगाडि पनि राठीमाथि यस्ता आरोप नलागेको होइन ।

तर, राठी भने यो कुरा अस्विकार गर्छन् । उनले भने–‘यहाँ रोएर फिल्म चल्दैन । पहिला आफू फिल्म किन्न खोज्ने अनी नसकेपछि हामीलाई आरोप लगाउने समुह यहाँ छ । त्यस्तो समुह रुदै गर्छ, त्यसले हामीलाई केही पनि फरक पर्दैन ।’
उनले, कि त नेपाल सरकारले विदेशी फिल्मलाई पूर्ण रुपमा प्रतिबन्ध नै लगाउनुपर्ने होइन भने सरकारको नियममा बसेर फिल्म रिलिज गर्न आफूहरुलाई कसैले रोक्न नसक्ने उनको भनाई छ ।

उनले भने–‘कबड्डी ४ फिल्म रिलिज हुने भएपछि हामीले आयुष्मान खुरानाको ‘अनेक’ भन्ने फिल्म नै रिलिज गरेनौं । वितरकलाई पनि विदेशी फिल्म ल्याउन डराउनुपर्ने अवस्था सिर्जना गर्ने खालका फिल्म बनाउनुपर्यो नी त । राम्रो फिल्म बन्यो भने नयाँ बर्ष, कुनै चाड केही पनि चाहिदैन ।’

राठीले आफूले ५ सय भन्दा बढी फिल्म वितरण गरेको र दर्शकको आकर्षण भएको फिल्म सहजै चलेको दाबी समेत गरे ।