आक्रामक ओपनिङ गर्दै ‘कबड्डी ४’ रिलिज

मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाएको फिल्म ‘कबड्डी ४’ आजबाट रिलिज भएको छ । रिलिजसँगै यो फिल्मले बिहानी शोमै आक्रामक कमाई गरेको छ । फिल्मले ३ दिन बम्पर ओपनिङ गर्ने छनक दिइसकेको छ । देशभरका हलमा बिहानैबाट दर्शकको चाप भरिभराउ छ । शनिबारसम्मलाई मल्टिप्लेक्समा टिकट पाउन मुश्किल देखिएको छ ।

रामबाबु गुरुङको निर्देशनमा बन्ने यो फिल्मले ३ दिनमै ६ करोड माथिको व्यापार गर्ने अनुमान फिल्म पण्डितहरुको छ । यसैविच, यो फिल्मको बिहिबार बेलुकी काठमाडौंको बीग मुभिजमा भव्य प्रिमियर गरिएको छ । भव्य प्रिमियरमा फिल्म क्षेत्रका चर्चित कलाकार, निर्माता, निर्देशक, प्राविधिक, पत्रकार, व्यापरिक क्षेत्रका मानिसहरु उपस्थित थिए ।

फिल्म हेरेर निस्किएका अधिकांश फिल्मीकर्मीले यसलाई रुचाए । कतिपयले यो फिल्मलाई अघिल्ला ३ सिरिज भन्दा उत्कृष्ट भनेका छन् भने कतिपयले यसलाई औषत मानेका छन् । यसपटक रामबाबुले ‘कबड्डी ४’लाई फाइनल म्याच भनेका कारण पनि आम मानिसको चासो फिल्मप्रति छ । निर्देशकले पनि फिल्मलाई विरकाजीको बिहेकै प्रशंग वरिपरी घुमाएका छन् ।

दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मलाई दर्शकले रुचाएको खण्डमा यसले थुप्रै रेकर्डहरु बनाउने संभावना छ । प्रिमियरमा भने यसलाई औषत प्रतिक्रिया मिलेको छ ।