निराजन र सुरक्षा एक्शन अवतारमा प्रस्तुत

एक्शन जनरामा ‘गन्तव्य’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गन्तव्य’ गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त एक्शन अवतारमा प्रस्तुत छिन् । उनको अपोजिटमा निराजन प्रधानले अभिनय गरेका छन् ।

सुरक्षाले यो म्यूजिक भिडियोबाट आफूलाई एक्शनमा राम्रो सम्भावना देखाएकी छन् । उनले एक्सनमा गरेको मेहेनत भिडियोमा देख्न सकिन्छ । पैसाका लागि गलत काममा होमिएका उनीहरुबीचको प्रेम र पैसाका लागि निराजनले सुरक्षामाथि गर्ने गलत व्यवहारको कथा भिडियोमा देखाइएको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री पन्तले नेपाली समाजमा देखिरहेकै घटनालाई भिडियोमा उतारिएको बताइन् । उनले भनिन्, ‘जीरो टोलरेन्सको आइडियामा भिडियो बनाएका हौं । एक्शनमा भिडियो बनाउने निर्देशक हरी हुमागाईंको आइडिया मन पर्यो अनि मैले पनि केही सिक्न पाउछु भन्ने लोभले काम गरेको हुँ ।’ उनले निराजनसँग लामो समयपछि काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

पहिलो पटक एक्शन जनराको म्यूजिक भिडियोमा काम गरेका निराजनले ‘गन्तव्य’ गीतको भिडियोले नेपाली समाजको अहिलेको अवस्था बोलेको बताए । भिडियोले महिलालाई मजबुत बन्न थप हिम्मत दिने उनको विश्वास छ । प्रधानले फिल्म नै बन्ने कथामा भिडियो बनेको बताउंदै निकट भबिष्यमा फिल्मको सोच रहेको बताए ।

आरके खत्रीको आवाजमा रहेको गीतमा सूर्य अधिकारीको र्याप छ भने मेलोडी म्यूजिक गायक खत्रीले नै दिएका छन् । त्यस्तै, गीतमा गायक द्वय खत्री र अधिकारीको शब्द रचना छ । म्यूजिकलाई ठाउँ-ठाउँमा ब्रेक गर्दै भिडियोमा एक्शनलाई प्राथमिकताका साथ स्थान दिइएको छ ।

फिल्म निर्देशक समेत रहेका हरी हुमागाईंले भिडियोको निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट पनि उनी स्वयंको हो । शंकर महर्जनले द्वन्द्व निर्देशन गरेको भिडियोमा प्रविन श्रेष्ठको कलर, राजेश शाहको भिएफएक्स र दीपु पौडेलको मेकअप छ । उत्तम हुमागाईं र राजेन्द्र हुमागाईंले छायांकन गरेको भिडियोलाई देवन प्रोडक्सनले निर्माण गरेको हो ।

गायक खत्रीले भिडियोले गीतलाई न्याय गरेकोमा खुशी व्यक्त गरे । अन्याय र अत्याचारको विरुद्धमा महिलाहरु बलियो भएर अगाडि बढ्नु पर्छ भन्ने सन्देश भिडियोले दिने उनले बताए ।

त्यस्तै, निर्देशक हुमागाईंले म्यूजिक भिडियोमा एक्सन सिक्वेन्स राख्न चुनौतीपूर्ण भए पनि आफूहरुले इमानदार प्रयास गरिएको बताए । सुरक्षाले तीन दिन एक्सन तालिम लिएर भिडियोमा एक्सन सिन दिएको उनको भनाई छ । एकै शैलीका म्यूजिक भिडियो बनिरहेको अवस्थामा केही पृथक गर्ने सोचले भिडियोलाई एक्सन शैलीमा तयार पारिएको उनी बताउँछन् ।