पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

नायक शाहलाई थुनामै राखेर अनुसन्धान जारी राख्न उच्च अदालत, पोखराले आदेश दिएको छ । योसँगै पल शाह धरौटीमा रिहा हुन्छन् भन्ने धेरैको आशा तत्कालका लागि टरेको छ ।

उच्च अदालतमा केही महिनादेखि चलेको बहसपछि आज न्यायधिसले फैसला सुनाएका हुन् । जिल्ला अदालत, तनहुँले थुनामा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएपछि पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।
जिल्ला अदालत, तनहुँको आदेशलाई नै सदर गर्दै उच्च अदालत पोखराले पललाई थुनामा राख्न आदेश दिएको हो ।

एक नाबालिका गायिकाका पिताले पलले आफ्नी छोरीलाई बारम्बार बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यलय, तनहुँमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी परेको ४ दिनपछि फागुण १५ गते पल शाहले प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए ।

प्रहरीले उनलाई ३ साता हिरासतमा राखेर अनुसन्धान गरेको थियो । त्यसपछि उनलाई जिल्ला अदालत, तनहुँले थुनामा राख्न आदेश दिएको थियो । तर, जिल्ला अदालत, तनहुँ र जिल्ला अदालत, नवलपुरमा नाबालिका गायिका र उनका पिताले बकपत्र फेरेपछि पल शाहको मुद्दा कमजोर बनेको चर्चा चलेको थियो ।

तर, उच्च अदालत, पोखराले भने पललाई धरौटी वा साधारण तारेखमा रिहा गर्न अस्विकार गर्दै थुनामा राख्न आदेश दिएको हो ।