भूवन केसीको ‘पारस’ कार्ड

नायक भूवन केसीका छोरा अनमोल केसीले फिल्म ‘हनी बनी’ साइन गर्दा तत्काल घरको फिल्म नगर्ने भने । घरको ३ वटा फिल्म लाइनअपमा भएपनि तत्काल नगर्ने भन्दै उनले बाहिरी प्रोजेक्टमै हात हाले ।

तर, ‘हनी बनी’ छाडेपछि भने अनमोलको हातमा फिल्म छैन । उनी, कथा त पढिरहेका छन् तर कुन गर्ने भन्नेमा अझै दोधारमा छन् । लगातार फिल्म साइन गर्दै छाड्दै गएपछि उनीमाथि फिल्म रोज्न नजानेको आरोप छ । यो आरोपबाट मुक्त हुन पनि उनले अब नछाड्ने गरि फिल्म साइन गर्न आवश्यक छ ।

तर, अब निर्माता भूवन केसीले ‘पारस’को कार्ड प्रयोग गर्न थालेका छन् । माधव वाग्लेसँग कथा मन परेपछि पैसा तिरेरै लिएको फिल्म भूवनले अहिलेसम्म बनाएका छैनन् । यसका लागि कोरोनालाई उनले मुख्य कारक ठानेका छन् । तर, कोरोना कालपछि यता दर्जन बढी फिल्म निर्माण भएर पनि केही रिलिज भैसकेका छन् ।

भूवनले ‘पारस’ फिल्म आफै बनाउने र यसमा अनमोल केसी नै मुख्य भूमिकामा रहने बताउन थालेका छन् । तर, अब यो फिल्म बन्छ या बन्दैन पक्का छैन । भदौबाट छायांकन नै सुरु गर्ने भूवनले बताएका छन् । फिल्मलाई कसले निर्देशन गर्ने पक्का भएको छैन, तर कथा तयार छ । के भूवनले यसपटक यो फिल्म बनाउलान् त ?