१५ लाख बढि खर्च भएको फिल्म ‘झिँगेदाउ’को गीतमा नाचिरहेका कलाकार (फोटो फिचर)

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘झिँगेदाउ’को एक गीत बाहेकको छायांकन कोरोना महामारी अगाडी नै सकिएको थियो । निर्देशक देउजाले गीत बाहेकको पोष्ट-प्रोडक्सनको काम पनि सकाई सकेका छन् ।

केही दिन यता निर्देशक देउजा ललितपुरस्थित श्रीकाली चौरमा बाँकी रहेको फिल्मको एक गीतको छायांकन गरेका थिए।  देउजाले यो फिल्मको गीतमा मात्रै १५ लाख बढि खर्च भएको बताएका छन्।

फिल्मको कथाको डिमाण्ड अनुसार कुनैपनि कम्प्रमाइज नगरी गीतको छायांकन गर्दा बजेट राम्रै खर्च भयो । काम निकै राम्रो भइरहेकाले बजेट बढ्दा पनि कुनै गुनासो नरहेको निर्देशक देउजाले सुनाए । फिल्म आगामी भदौ अन्तिम साता रिलिज हुनेछ ।

फिल्ममा समावेश गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् । गीतमा फिल्मका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । गीतमा नाचिरहेका कलाकारले गीत निकै मिठो भएको हुँदा भिडियोमा पनि सोही अनुसार मेहनत गरिरहेको सुनाए । ‘ए माया तिमी विना जीवन चल्दैन’ बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारको स्वर छ ।

प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।