स्वस्तिमा खड्काः अभिनयको चर्चा, व्यापारमा कमजोर

नायिका स्वस्तिमा खड्काले अभिनय गरेको फिल्म ‘चिसो मान्छे’ हलमा लागिरहेको छ । यो फिल्मलाई समीक्षकले मिश्रित प्रतिक्रिया दिए । दर्शकको प्रतिक्रिया भने सुखद छ । तर, फिल्मले अपेक्षित व्यापार गरिरहेको छैन । वितरक करण क्रेजीका अनुसार फिल्मले ३ दिनमा १ करोड ३० लाख हारहारीको व्यापार गरेको छ ।

नायिका स्वस्तिमा खड्काले प्रचारमा कुनै कसर बाँकी राखेकी थिइनन् । तर, पनि उनको स्टारडमको फाइदा फिल्मलाई भएन । हुनत, यो फिल्म मात्र होइन यसअगाडि रिलिज भएका ‘हजार जुनी सम्म, घामड शेरे, चपली हाइट ३’ले पनि स्वस्तिमालाई राहतको श्वास फेर्न दिएनन् । ‘नाई नभन्नु ल ५ र छक्का पन्जा २’को व्यापारले मात्र स्वस्तिमाको स्टार क्रेज पुष्टी गर्न सक्दैन ।

नम्बर १ नायिका बन्ने दौडमा लागेकी स्वस्तिमालाई हिट फिल्मको आवश्यकता छ । यसका लागि उनले अझै समय पर्खिनुपर्ने देखिन्छ ।

‘बुलबुल’ फिल्मबाट फेरिएको स्वस्तिमाको अभिनयको चर्चा भने ‘चिसो मान्छे’सम्म आइपुग्दा झनै उचाई लिन सफल छ । तर, स्वस्तिमालाई यसले फाइदा दिएपनि उनले काम गरेका निर्माताको अनुहारमा भने खुशी दिन सकेको छैन ।