कमल हसनको ‘विक्रम’ हिट हुने पाँच कारण

बलिउडको बक्स अफिसमा दक्षिण भारतीय फिल्मले शासन गर्दैछ भन्दा फरक नपर्ला । ‘पुष्पा’, ‘केजीएफ २’ र ‘आरआरआर’ पछि तमिल फिल्म ‘विक्रम’को कमाई आँकडालाई हेरे पुग्छ ।

फिल्म ‘विक्रम’ले विश्वव्यापी रूपमा चार सय करोड कमाई गरिसकेको छ । २० दिनदेखि फिल्मको कमाईको आँकडा ओरालो झरेको छैन । दक्षिण भारतीय क्षेत्रमा पनि ‘विक्रम’को बक्स अफिस कलेक्सन दौड जारी नै छ ।

कमल हसनको निर्माण र अभिनय रहेको यो फिल्मले सबै रेकर्डलाई तोडेर विश्वव्यापी बजारमा आफूलाई स्थापित गरिरहेको छ । यहाँ ‘विक्रम’ हिट हुने पाँच कारणलाई प्रस्तुत गरिएको छ ।

कमल हासनको कमव्याक

‘विक्रम’ले कमल हासनको जादुमयी अभिनयलाई पुनः स्थापित गरेको छ । पछिल्लो चार वर्षमा कमल कुनै पनि फिल्ममा देखिएका थिएनन् । उनी टेलिभिजन होस्ट र राजनीतिमै सक्रिय थिए । यो समयावधिमा मानिसले कमललाई धेरैपटक देखे, तर उनको कला भने हेर्न पाएका थिएनन् । उनको कला हो, अभिनय, लेखन र निर्देशन । ‘विक्रम’ले चार वर्षपछि कमलको खालीपनलाई भरिदिएको छ ।

साउथका तीन स्टार एकसाथ

के हुन्छ, जब कुनै फिल्ममा तीन खान एकैपटक देखिन्छन् । यस्तै संयोग ‘विक्रम’मा छ । फिल्ममा तीन साउथ स्टार कमल हासन, विजय सेथुपथी र फहाद फाजिल छन् । तमिल फिल्ममा यस्तो मल्टीस्टार फिल्म सायदै पहिलोपटक बनेको हो । तिनै स्टारलाई निर्देशक लोकेश कनगराजले एकसाथ ल्याएका हुन् ।

सूर्याको केमियो

‘विक्रम’का लागि सूर्याको केमियो अर्को सरप्राइज हो । फिल्म रिलिज हुनु अघि कसैलाई पनि यो कुराको छनक थिएन । फिल्ममा सूर्याको प्रवेश नै दर्शकका लागि उत्साहपूर्ण छ ।

लोकेश कनगराजको निर्देशन

निर्देशक लोकेश ‘विक्रम’सहित तीन हिट फिल्मका निर्देशक हुन् । उनले यसअघि ‘कैथ’ र ‘मास्टर’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । लोकेश अभिनेता कमल हासनको ‘डाई हार्ड फ्यान’ हुन् ।

जबर्जस्त एक्सन

फिल्मको सफलतामा यसको एक्सन पाटो पनि जोडिएको छ । यो फिल्ममा एक्सनकै लागि निर्देशक लोकेशले निकै लामो अनुसन्धान गरेका छन् ।