सौगातको ‘घनचक्कर’ पत्तासाफ, निर्मातालाई करोड घाटा

नायक सौगात मल्ल अभिनित ३ फिल्म ३ महिनामा रिलिज भए । जेठमा रिलिज भएको फिल्म ‘कबड्डी ४’ले बक्स अफिसमा २२ करोड भन्दा बढी कमाइसकेको छ ।

तर, बिडम्बना नै भन्नुपर्छ शुक्रबारदेखि रिलिजमा आएको उनी अभिनित फिल्म ‘घनचक्कर’ बक्स अफिसमा पत्तासाफ भएको छ । उनकै नाममा मल्टिप्लेक्सले केही शो यो फिल्मलाई दिएका थिए । तर, निक्कै नै कमजोर कथामा तयार भएको यो फिल्मले व्यापार पनि गतिलो गर्न सकेन ।

२ दिनमा ५ लाख ग्रस कमाई गरेको फिल्म बक्स अफिसमा नराम्रोसँग पत्तासाफ भयो । फिल्मले हलबाट खराब व्यापार गर्दा निर्माता हरि भट्टले भने करोड बढी गुमाएका छन् । यो फिल्म निक्कै नै कमजोर कथामा निर्माण भएको छ । जसकाकारण, दर्शकले फिल्म हेर्न मन नै गरेनन् ।

सौगात अभिनित अर्को फिल्म ‘मन्त्र’ पनि हलबाट २ दिनमा उत्रिएको थियो । अत्याधिक धेरै फिल्म खेल्दा सौगात मल्लले त पैसा कमाएका छन्, तर निर्माताले नराम्रोसँग डुबाएका छन् ।