दीपकराज गिरीः जसलाई कथा अझै शत प्रतिशत चित्त वुझेको छैन

यो बर्षको दशैंका लागि धमाधम फिल्मको प्रदर्शन मिति तय भैरहेका छन् । दशैंमा ‘प्रेमगीत ३, परदेशी २’ आउने निश्चित छ । दशैंमा हाँस्य कलाकारहरु दीपकराज गिरी र दीपाश्री निरौलाको टिमको फिल्म आउने चर्चा चलेको पनि लामै समय भैसकेको छ । तर, असारको मध्य भाग आइपुग्दा यो टिमले फिल्मको छायांकन सुरु गर्न सकेको छैन । अब ३ महिनामा फिल्म छायांकन सकेर रिलिज गर्न संभव होला त ?

आखिर, के कुरामा अझै टुंगो लाग्न नसकेको हो त ? वुझिएअनुसार, फिल्मको फाइनल स्क्रिप्टमा दीपकले अझै चित्त वुझाउन सकेका छैनन् । दीपकलाई थाहा छ, उनलाई कमजोर कथामा फिल्म बनाउने छुट छैन । यसैले, फिल्मका निर्देशक, कलाकार, टिम सबै तयार हुँदा पनि दीपकले छायांकन सुरु गर्न सकेका छैनन् ।

दीपक पनि आफूलाई कथाले शत प्रतिशत नतानेसम्म काम सुरु गर्न नसक्ने बताउँछन् । साउनको पहिलो सातासम्म फिल्मको छायांकन सुरु भएको खण्डमा दशैंमा रिलिज गर्न सकिनेमा यो टिम विश्वस्त छ । तर, दीपकलाई अझै पनि कथा पूर्ण रुपमा चित्त नवुझेकाले यो टिमले हेमराज वीसीको निर्देशनमा बन्ने फिल्मको काम सुरु गर्न नसकेको हो ।