रोकिएन हाँस्य कलाकारहरुको फुटको श्रृङ्खला

विजय ‘आवाज’

नेपालमा कम्यूनिष्ट पार्टीहरु फुटेरै सकिए भन्ने खुबै सुनिन्छ । अझ, कमेडी गर्ने कलाकारहरु यो बिषयलाई आफ्नो प्रस्तुतिमा समावेश गर्न सधै अगाडि हुन्छन् । तर, कम्यूनिष्ट पार्टीको भन्दा बढी फुट हाँस्य कलाकारहरुको टिममा देखिएको छ । फुटै फुटले हाँस्य कलाकारहरुमा गुटको श्रृजना गरिदिएको छ ।

फिल्म ‘६ एकान ६’ बनाउँदा हाँस्य कलाकारहरु एकसाथ देखिए । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, सिताराम कट्टेल, सन्दिप क्षेत्री लगायतको टिम यो फिल्ममा थियो । तर, दीपकराज गिरीले ‘छक्का पन्जा’को सिरिज सुरु गर्दा सिताराम कट्टेल र कुञ्जना घिमिरे यो टिमबाट अलग भैसकेका थिए ।

दीपकराज गिरी र दीपाश्री निरौलाले ‘शत्रु गते’मा काम गरे । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला लगायतको हाँस्य कलाकार टिम यसमा जोडियो । तर, मह जोडीकै ‘दाल भात तरकारी’मा आइपुग्दा दीपक–दीपा यो टिममा बस्न मानेनन् । कारण थियो, पारिश्रमिक । निर्माता किरण केसीसँग पारिश्रमिकमा कुरा नमिल्दा उनीहरु अलग भए ।

‘छक्का पन्जा’को चौथो सिरिज निर्माण नहुँदै जितु नेपाल फेरि दीपकको टिमबाट बाहिरिएका छन् । उनी, यो टिमबाट बाहिरिएर नयाँ फिल्म बनाउँदैछन्, जहाँ ‘छक्का पन्जा’ सिरिजका निर्माताद्धय सुमन गिरी र निशान बजगाँई पनि जोडिएका छन् ।

दीपकको टिमबाट निर्मल शर्मा पनि पहिले अलग भए । तर, अहिले फेरि उनी जोडिदा जितु नेपाल बाहिरिएका छन् ।

हाँस्य कलाकारहरुले छुट्टाछट्टै रुपमा फिल्म बनाइरहेका छन् । तर, उनीहरु सबैलाई एक ठाउँमा ल्याउनका लागि विभिन्न कुराले रोकेको छ । कतै स्टारडम, कतै इगोले उनीहरुमा विभाजन ल्याइदिएको छ ।

सार्वजनिक कार्यक्रममा एकसाथ जस्तो देखिएपनि उनीहरुविचको आन्तरिक शितयुद्ध कुनै राजनीतिक दलको भन्दा कम छैन । तर, उनीहरुकै फिल्ममा सबैभन्दा बढी बिषय राजनीतिक दलका टुटफुटका कुराले बढी पाउने गरेका छन् ।