पारिश्रमिकमा विपिन कार्कीः निर्माताको ढाडै सेक्ने नीति ?

Mero Film

नायक विपिन कार्की अभिनयमा अब्बल मानिन्छन् । कथा उत्कृष्ट भएका फिल्म बाहेक उनको नाममा नै फिल्म चलेको भने छैन । ‘पशुपति प्रसाद, जात्रा, जात्रै जात्रा’ जस्ता फिल्मले राम्रो व्यापार गर्दा विपिनकै नाममा बनेका ‘गोपि, हरि, सेल्फी किङ’ जस्ता फिल्मले पानी भन्न पाएनन् । तर, विपिनको उम्दा अभिनयको चर्चा भने सधै हुन्छ ।

तर, पछिल्लो समय विपिन पारिश्रमिकको बिषयमा महत्वकांक्षी बन्न थालेको चर्चा फिल्म वृत्तमा सुरु भएको छ । फिल्म ‘पशुपति प्रसाद’मा ‘भष्मे डन’ नामले चिनिएपछि विपिनको करिअर बलेको हो । तर, उनले यही फिल्मको सिरिजमा काम गर्न नाफाको ५० प्रतिशत मागिदिए । यो फिल्ममा महंगो पारिश्रमिक मागेपछि निर्माता खगेन्द्र लामिछानेले यो कुरा स्विकार गर्न सकेनन् । जसकाकारण, उनी फिल्ममा नहुने पक्का छ ।

‘छड्के’ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा चिनिएका विपिनले ‘छड्के २’का लागि निर्देशक निगम श्रेष्ठसँग चर्को पारिश्रमिक माग गरेका थिए । विपिनको पारिश्रमिक उच्च भएपछि निगमले उनलाई यो फिल्ममा नराख्ने भएका छन् । यसरीहेर्दा, अभिनयमा उत्कृष्ट रहेका विपिन पछिल्लो समय पारिश्रमिकको पछि दौडिएको अनुभुती आम फिल्मीकर्मीले गर्न थालेका छन् । आफूलाई नै स्थापित गरेको फिल्मका निर्माताकै ढाड सेक्ने नीति विपिनले लिदा उनीबाट निर्माताहरु नै टाढा हुनुपर्ने अवस्था आएको छ । यसले विपिनको करिअरलाई संकटमा पार्न सक्ने विश्लेषण फिल्मीकर्मीहरु गर्छन् ।

फिल्म ‘प्रसाद २’मा पनि विपिन कार्की मुख्य भूमिकामा छन् । यो फिल्मका लागि उनले २२ लाख पारिश्रमिक लिएको चर्चा छ । तर, फिल्ममा २२ लाखमा संझौता गरिसकेपछि पनि विपिनले पछि पारिश्रमिक बढाइदिन निर्माता सुभाष थापासँग आग्रह गरेको वुझिएको छ । तर, यो कुरामा निर्माता तयार हुन सकेनन् ।

हालैमात्र, एक फिल्मका लागि विपिनले ५० लाख डिमाण्ड गरेको खबर समेत सार्वजनिक भएको थियो ।

बलिउड फिल्म ‘एनिमल’मा समेत काम गर्न लागेका नायक कार्कीको पारिश्रमिक हिजोआज निर्माताका लागि अप्ठ्यारो पर्न थालेको छ । अभिनय उत्कृष्ट गर्ने विपिनको स्टारडम बलियो छैन । तर, उनी पारिश्रमिकमा भने निर्माताको ढाडै सेक्ने शैलीमा प्रस्तुत हुन थालेका छन् ।


Leave a Reply

Your email address will not be published.