प्रचण्डलाई भेट्न खुमलटार पुगे राजेश हमाल

नेपाली फिल्म क्षेत्रका सर्वाधिक चर्चित नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । प्रचण्डलाई भेट्न आज राजेश हमाल खुमलटार पुगेका थिए । खुमलटारमा भएको भेटमा देशको राजनीतिक अवस्था, कला क्षेत्रको बिषयमा कुरा भएको थियो ।

प्रचण्डसँगको भेटमा राजेशले देशले संझिएको खण्डमा आफूले कुनै पनि स्थानमा रहेर देशको सेवा गर्न सक्ने बताएका थिए । तर, कुनै पनि बेलामा राजनीतिमा आउने सक्ने संभावनालाई नकार्न नसक्ने हमालले प्रचण्डलाई बताएका थिए ।

वुझिएअनुसार, राजेश हमालको रुची कुनै दलको नेता भन्दा पनि राजदुतमा रहेको छ । हमालले आफूले अहिले कुनै पार्टीमा लागेर राजनीति गर्ने सोच भने नबनाएको बताएका थिए ।

प्रचण्ड र राजेशको यो पहिलो औपचारिक भेटघाट हो । प्रचण्डले पनि हमालसँग भेट गर्न चाहेको र हमालले पनि पहिलेदेखि नै प्रचण्डसँग भेट गर्न चाहेकाले यो भेट संभव भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए ।