फ्लप ‘छड्के’को सिरिज खेल्न किन तयार भए अनमोल ?

बर्षकै सुरुवातमा ‘ए मेरो हजुर ४’ जस्तो हिट फिल्म दिएका नायक अनमोल केसीले एकसाथ २ फिल्म साइन गरे । हुनत, अनमोलको फिल्म छाड्ने बानीले गर्दा पनि आम दर्शक उनीमाथि विश्वास गर्न सकेका छैनन् ।

तर, हालसम्मलाई हेर्ने हो भने अनमोलले ‘छड्के २’ र नायिका पूजा शर्माको फिल्म साइन गरेका छन् ।

नेपाली फिल्म क्षेत्रमा फ्लप फिल्मको सिरिज वा सिक्वेल कमै मात्र बनेका छन् । ‘छड्के’ बक्स अफिसमा पत्तासाफ भएको फिल्म हो । ३ दिन बम्पर व्यापार गरेर चौथो दिनदेखि पत्तासाफ भएको फिल्म हो ‘छड्के’ । निगम श्रेष्ठले यो फिल्मपछि ‘लालपूर्जा’ जस्तो असफल फिल्म दिएका छन् । यसर्थ, अनमोलले पक्कै पनि यो फिल्ममा काम गर्नु अगाडि कैयौ पटक सोचेको हुनुपर्छ ।

अनमोल केसीका अनुसार, यो फिल्मको कथा उत्कृष्ट भएकाले नै उनले साइन गरेका हुन् । अनमोलले भने–‘यसको कथा उत्कृष्ट छ । मलाई कथाले मन तानेपछि काम गर्न तयार भएको हुँ । यो छड्केको सिरिज होइन । नयाँ कथा र नयाँ चरित्रमा फिल्म बन्दैछ ।’

निमगले पनि फिल्मलाई ग्याङस्टार जनरामा बनाउने तयारी गरेका छन् । साउनको अन्तिमबाट सुरु हुने फिल्मलाई लिएर अनमोल उत्साहित छन् । अनमोल फिल्ममा केही फरक गर्न चाहन्छन् । यसैले, लभ स्टोरी कथाबाट टाढा हट्न उनले ग्याङस्टार जनराको कथा रोजेका छन् ।