अनमोलले ‘जेरी २’ साइन गर्दा बोर्डमा लबिङ गर्न भूवनलाई कति सहज ?

शिर्षक पढ्दा तपाई आफै अचम्ममा पर्नु भयो होला । किनकी, अनमोलको ‘जेरी २’सँग निर्माता तथा नायक भूवन केसीको बोर्ड अध्यक्ष बन्ने बिषयको कनेक्शन कसरी हुन्छ भन्ने तपाइको दिमागमा आएको हुनुपर्छ । नायक भूवन केसी बोर्ड अध्यक्ष बन्न चर्को लबिङमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रदेश नम्बर ३ का नेपाली कांग्रेसका नेता इन्द्र बानियाँसँग समेत भूवनले लबिङ तिब्र बनाएका छन् ।

भूवन केसीले अब निर्माता सरोज न्यौपानेसँग पनि लबिङ गरिरहेका छन् । सरोज प्रधानमन्त्री पत्नी आरजु देउवा राणसँग निक्कै नजिक छन् । सरोजले बोर्ड अध्यक्षका लागि निवेदन दिएका मनिष पण्डितका लागि आरजुसँग लबिङ गरिरहेका थिए । अब, अनमोल उनकै फिल्मको नायक भएपछि पक्कै पनि सरोजले भूवनका लागि आरजुसँग लबिङ गर्ने पक्का छ ।

यसरीहेर्दा, भूवन केसीको बोर्ड अध्यक्षका लागि दौडधुप चलिरहनु र अनमोलले सरोज न्यौपानेको लगानीमा बन्ने फिल्म साइन गर्नुमा कतै नै कतै कनेक्शन छैन भनेर भन्न सकिदैन । बोर्ड अध्यक्ष बनेको खण्डमा नेपाली फिल्मको बिकास र बिस्तारका लागि आफूले सबै अनुभव खन्याउने बताउँदै आएका नायक केसी यसपटक प्रमुख दाबेदार मानिएका छन् ।