विपिनले ‘छड्के २’ मा मागे अनमोलको भन्दा २५ हजार कम पारिश्रमिक

नायक विपिन कार्कीले ‘छड्के २’मा काम नगर्ने पक्का भैसकेको छ । यो फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् । फिल्ममा नायक अनमोल केसी भने मुख्य भूमिकामा देखिदैछन् । फिल्मको छायांकन साउनको अन्तिम सातबाट गर्ने र फागुणमा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

विपिनले ‘छड्के २’मा काम नगर्नुको मुख्यकारण पारिश्रमिक रहेको खबर त हामीले सार्वजनिक गरिसकेका छौं । तर, विपिनले फिल्मका लागि कति पारिश्रमिक मागे भन्ने खुलेको थिएन ।

मेरो फिल्मलाई प्राप्त विशेष खबर अनुसार, यो फिल्ममा अनमोल केसी साइन भैसकेपछि विपिनसँग कुरा अगाडि बढेको थियो । जहाँ, विपिनले अनमोलको भन्दा २५ हजार कम पारिश्रमिक मागेका थिए । विपिनको भनाई उद्धत गर्दै श्रोतले भन्यो–‘उहाँले तपाइको फिल्ममा मेघास्टार हुनुहुँदोरहेछ । मलाई उहाँको भन्दा २५ हजार कम पारिश्रमिक दिनुहोस् भन्नुभएछ । निर्माण टिमले सल्लाहा गरेर भन्छौं भनेर जवाफ फर्काएछ ।’

विपिन विगत केही समयदेखि पारिश्रमिकका कारण बढी आलोचित छन् । हुनत, विपिनले आफूले पारिश्रमिकमा कहिले पनि बार्गेनिङ नगरेको तर्क गर्ने गरेका छन् । तर, उनले पारिश्रमिकमा बार्गेनिङ गरेकै कारण केही फिल्म छाडेका छन् ।