अनमोललाई साइन गराउन राजनीतिक पावर लगाएका छैनौः पूजा शर्मा

नायिका पूजा शर्माले नायक अनमोल केसीलाई आफ्नो नयाँ फिल्ममा साइन गराउन राजनीतिक पावर प्रयोग गरिएको भन्ने खबरलाई वाहियात भनेकी छिन् । अनमोलले केही साता अगाडि मात्र सुदर्शन थापाको निर्देशन तथा पूजा शर्माको निर्माणमा बन्ने फिल्म साइन गरेका थिए ।

तर, केही मिडियामा भने पूजाले प्रेमी युद्ध बाँनियाको साथ लिएर अनमोललाई साइन गराउन इन्द्र बाँनियादेखि आरजु राणासम्मको पावर लगाएको भन्दै खबर सार्वजनिक भएको थियो । यो बिषयमा कुरा गर्दै पूजाले भनिन्–‘यी सबै वाहियात कुरा हुन् । अनमोल यही क्षेत्रमा विगत केही बर्षदेखि सक्रिय छन् । उनीसँग काम गर्नका लागि हामीले पहिलेदेखि नै कुरा गरिरहेका थियौं । यसपटक अनमोललाई कथा निक्कै मन पर्यो र उनी अनुवन्धित भएका हुन् ।’

पूजाले यस्ता खालका वाहियात खबरले कलाकारको काम गर्ने इच्छामा गिरावट आउने समेत बताइन् । उनले भनिन्–‘दुई वटा टिम मिलेर काम गर्दा फिल्म क्षेत्रलाई नै राम्रो हो । बलिउडमा पनि ठूला कम्पनीहरुले मिलेर काम गरेका छन् । तर, यहाँ त अरुको रिस र डाहा गरेर कसरी हुन्छ फाटो ल्याउने काम गरिन्छ । यसले, फिल्म क्षेत्रलाई अगाडि बढाउन मद्दत गर्दैन ।’

पूजा र अनमोलको मुख्य भूमिका रहने फिल्मको कथा यतिबेला धमाधम लेख्ने काम भैरहेको छ । फिल्मलाई कार्तिकबाट छायांकनमा लैजाने योजना टिमको छ ।