फिल्ममा बाबुको भूमिका अस्विकार गर्दै राजेश हमाल

नायक राजेश हमाल उमेरले ६० कटिसके । कुनै समय नेपाली फिल्ममा एकछत्र राज गरेका यी चर्चित नायकले, फिल्ममा काम नगरेको ५ बर्ष भैसकेको छ । हमाललाई फिल्म साइन गर्न सकस अझै परिरहेको छ । उनले, ४ बर्षपछि साइन गरेको ‘सत्यम्’ फिल्म पनि नबन्ने देखिएको छ । उसो भए, हमालले अब कुन फिल्ममा काम गर्छन् त ?

हमाललाई फिल्मको अफर भने नगएको होइन । उनले, फिल्म ‘प्रेमगीत ३’मै नायक प्रदीप खड्काको बाबुको भूमिकामा काम गर्न अस्विकार गरेका थिए । तर, यो सिलसिला अझै रोकिएको छैन । हमालले फिल्म ‘छड्के २’मा नायक अनमोल केसीको पिताको भूमिकामा काम गर्न अस्विकार गरेको वुझिएको छ । उनले, महंगो पारिश्रमिक दिदा पनि आफूले बाबुको भूमिकामा काम नगर्ने जवाफ फर्काए ।

केही हप्ता अगाडि निर्देशक रामबाबु गुरुङले नायक विपिन कार्कीलाई एक फिल्ममका लागि अनुवन्धित गरे । तर, यो भूमिकाका लागि विपिन अगाडि रामबाबु राजेश हमालसम्म पुगेका थिए । उनले, फिल्ममा राजेशलाई दयाहाङ राइको बाबुको भूमिकामा काम गर्न अफर गरेका थिए । तर, हमालले यो अफर पनि अस्विकार गरे । हमालले अस्विकार गरेपछि रामबाबुले विपिनलाई दयाको पिताको रुपमा देखाउने तयारी गरेको श्रोत बताउँछ ।

नायक हमाल अहिले नै फिल्ममा पिताको भूमिकामा देखिन चाहदैनन् । उनले, फिल्ममा अझै पनि हिरोको भूमिकामा नै काम गर्न चाहेको प्रष्ट छ । यसैले, उनले आफ्नो केन्द्रिय भूमिका रहने फिल्म ‘सत्यम्’ साइन गरेका थिए । तर, हमालको यो निर्णयले उनलाई फाइदा भएको छ या घाटा यो उनले नै जान्ने कुरा भयो ।