‘यो रमाइलो तिजैमा…’ करिश्मा र अञ्जलीको ठुम्का

सुनिता दुलालको ‘यो रमाइलो तिजैमा…’ बोलको गीत सार्वजनिक भएको छ । दुलालले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् ।

उन्नती बोहोरा ‘शिला’ को शब्दमा शम्भुजित बाँस्कोटाले संगीत भरेको गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले गीतको मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर, मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भबुु’, गजित विष्ट, भोजराज शर्मा लगायतको अभिनय छ ।

भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । ‘तीज क्वीन’ को रुपमा परिचित गायिका दुलालले तीजको छेको पारेर हरेक बर्ष एकल आवाजमा गीत सार्वजनिक गर्दै आएकी छिन् । अघिल्लो वर्षको तीजमा उनले ‘स्वामीकी प्यारी…’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । त्यसअघि कोभिड महामारीको बीचमा पनि उनले ‘जुममा हेरेर…’ तीज गीत बजारमा ल्याएकी थिइन् ।