मेयर हर्क साम्पाङले गाएको गीत ‘सरर हावा कलकल पानी’ सार्वजनिक

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको स्वरमा बनाइएको हाइकिङ गीत धरानमा सार्वजनिक गरिएको छ ।

सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको गीत सार्वजनिक गरिएको हो । गीतको रचना पदयात्राका अभियन्ता राजीव हलुवाइले गरेका छन् ।

उक्त गीतमा चर्चित गायक तथा गायिकाहरु राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका प्रमुख हर्क साम्पाङले पनि स्वर दिएका छन् ।

गीतमा मनोज मोतेले सङ्गीत दिएका छन् । धरानका पाखापखेरीमा घुम्न प्रोत्साहन गर्न र पदयात्राको सम्भावना भएको क्षेत्रलाई समेटेर भिडियो बनाइएको हो ।

कार्यक्रममा धरान–८ स्थित अनुपमा प्याकेजिङ उद्योगले उत्पादन गरेको प्रिमियम सिटिसी चिया धरान पनि नगर प्रमुख र उपप्रमुखलाई हस्तान्तरण गरिएको थियो । हलुवाइले धरानमा पदयात्रा संस्कृतिलाई व्यापक गर्न लामो समयदेखि अभियान चलाउँदै आएका छन् ।

स्वास्थ्यका लागि हिँडौं भनेर उनले प्रत्येक शनिबार नयाँ नयाँ ठाउँमा समूह बनाएर पदयात्रा गर्दै आएका छन् । हलुवाइको अभियानको प्रभावले धरानमा पदयात्रामा निस्कने धरानेहरुको सङ्ख्या ठूलो छ ।

पदयात्राको अगुवाइ गरिएकाले उनी ‘हाइकिङ बाबा’को नामले पनि परिचित छन् । उनै हलवाइले रचना गरेको हाइकिङ गीत सोमबार सार्वजनिक गरिएको हो ।