भुवनलाई शुभकामना दिदै अनमोल लेख्छन्–‘मेरो मार्गदर्शक, मेरो प्रेरणा’

नायक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएसँगै उनलाई फ्यान, शुभचिन्तक, फिल्मीकर्मी र मिडियाकर्मीले शुभकामना दिइरहेका छन् । तर, उनलाई उनका छोरा नायक अनमोल केसीले दिएको शुभकामना भने केही विशेष छ ।

भुवनलाई शुभकामना दिदै अनमोलले नेपाली फिल्म क्षेत्रको श्री बृद्धिका लागि लागिपर्न आग्रह गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै अनमोलले भनेका छन्–‘बाटो हिड्ने मान्छे भन्दा पनि बाटो बनाइदिने मान्छे महान् हुन्छ । म तपाई लगायत तपाइका समकालीन हस्तीहरुकै पाइलाहरुलाई पछ्याउँदै यहाँसम्म आइपुगेको छु । आजबाट तपाइको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्री बृद्धिमा तपाइको थप योगदान रहने कुरामा म ढुक्क छु, यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’

अनमोलले आफ्ना पिता र आफ्ना पिताका समकालिन अग्रजहरुको पाइला पछ्याउँदै अगाडि बढेको पनि उल्लेख गरेका छन् । फिल्म ‘छड्के २’का लागि अनमोल केही दिनदेखि चितवनमा छन् ।