डिजे सन्तोष: जसले २२ वर्षअघि नै नेपालीलाई रिमिक्समा नचाए

सन् २००० को शुरुवात , जतिबेला नेपाली सांगितिक बजारमा पाश्चात्य शैलीका पप गीतहरुको दबदबा थियो । त्यति नै बेला पुराना नेपाली गीतहरुलाई नयाँ स्वरुप दिने काममा जुटे, डिजे सन्तोष । नाचिदेऊ मैच्याङ, लेकाली हे चोयाको डोको , मै छोरी सुन्दरी, चियाबारीमा लगायत धेरै गीतहरु उनले बजारमा ल्याए। ती गीतहरुको बिक्री वितरण पनि लोभलाग्दो थियो ।

सन्तोष भन्छन्, ‘त्यतिबेला बिहे तथा पार्टीहरुमा नाच्नका लागि नेपाली गीतहरु कमैमात्र थिए । मैले पुराना गीतहरुलाई तत्कालीन पुस्ताको फ्लेबरमा तयार गरेकाले ती गीतहरु निकै चले । धेरैले ती गीतहरुमा नाचे, यही नै मेरो सफलता हो ।’

रिमिक्स शैलीमा आएपछि नै कतिपय गीतहरुले त्यतिबेला पुनर्चर्चा पाएका थिए । तर, ती गीतहरु फेरि हिट हुनुमा आफ्नो भूमिकालाई खास ठूलो मान्दैनन्, सन्तोष । ‘मैले रिमेक गरेका गीतहरु त्यसअघि नै चलेका थिए ।

अग्रज स्रस्टाहरुले संकलन गर्नुभएका वा रचना गर्नुभएका लोकभाका थिए । ती गीतहरुको आफ्नै इतिहास छ , ती सर्जकहरुको आफ्नै इतिहास छ,’ उनले भने,‘बरु मैले ती गीतहरुमार्फत नै आफ्नो परिचय बनाएँ । दर्शकस्रोतमाझ चिनिन पाएँ । ती कालजयी गीतहरुलाई रिमेक गर्दा थोरै भएपनि न्याय गर्न सकेकाले नै दर्शकहरुले मन पराइदिनुभयो भन्ने लाग्छ , यही नै मेरो सफलता हो ।’

 

चियाबारीमा हो चियाबारीमा
कुसुम गजमेर र तुलसी घिमिरेको शब्द रचना रहेको यस गीतको ओरिजिनल भर्सनमा रन्जित गजमेरले संगीत दिएका छन् । । डिजे सन्तोषले बनाएको रिमिक्स भर्सन पनि निकै चर्चित भएको थियो ।

बाइरोडको बाटोमा
पाण्डव सुनुवारको यस गीतले कुनै जमानामा निकै चर्चा पाएको थियो । नयाँ पुस्तालाई यो गीतसँग जोड्ने काम भने डिजे सन्तोषले नै गरे । उनले रिमिक्स गरेपछि यो गीत फेरि टिभी तथा रेडियोमा लगातार बज्न थाल्यो ।

नाचिदेउ मैच्यांग
यो गीतलाई गोपाल योन्जनले लेखेका हुन् भने संगीत पनि उनले नै दिएका छन् । यो गीतको रिमेक डिजे सन्तोषको एडिक्सन टु एल्बममा समावेश छ ।

को हो त्यो
के घर के डेराको गीतलाई निर शाहले लेखेका हुन् । यस गीतको ओरिजिनल भर्सनमा शम्भूजित बाँस्कोटाको संगीत छ । त्यसैगरी ओम विक्रम विष्टको स्वर छ । यस गीतको रिमेक भर्शनमा भने महिलाको स्वर समावेश छ । डिजे सन्तोषसँगै रिमेक भर्शनमा मन्जया श्री र अनुशाले स्वर भरेका छन् ।

मै छोरी सुन्दरी
भारती उपाध्यायको संगीत तथा स्वर रहेको यो गीत वर्षौ वर्षसम्म रेडियो नेपालबाट बज्यो र धेरै दर्शकको मनमा बस्यो । डिजे सन्तोषले यही गीतलाई रिमिक्स गरेर नयाँ शैलीमा प्रस्तुत गरे । जसकारण धेरै बिहे तथा पार्टीहरुमा यही गीत बज्न थाल्यो । यस गीतमा डिजे सन्तोषले पाश्चात्य संगीत र हाम्रो मौलिक बाजा सारंगीको फ्युजन गरेका छन् ।

यसैगरी कति बस्छौ माइतीकै कौशीमा, घरबेटी नानी, कलकत्तै काइयो, बतासैले उडाइ लग्योलगायत धेरै चर्चित गीतहरुलाई डिजे सन्तोषले रिमिक्स गरेका छन् ।