‘प्रेमगीत ३’ले देखाएको बाटो

फिल्म ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के खनालले सामाजिक संजालमा लेखे–‘बलिउड नगरीमा हाम्रो फिल्मको उपस्थिती देख्दा मन खुशी भयो । धेरै धेरै बधाई छ निर्देशक तथा निर्माता सन्तोष सेन ।’

सोमबार बिहानैदेखि भारतमा हिन्दी भाषामा नेपाली फिल्म ‘प्रेमगीत ३’ चल्ने खबरले नेपालभर चर्चा पायो । भारतका चर्चित ट्रेड पण्डितहरुले समेत आफ्नो ट्विटरमा ‘प्रेमगीत ३’लाई नेपालको पहिलो इन्डो–नेपाली फिल्म भारतमा रिलिज हुन लागेको भन्दै ट्विट गरे । उनीहरुको ट्विट लाखौं दर्शकसम्म पुग्दा नेपाली फिल्मको बलियो प्रचार भारतीय बजारमा भयो ।

भारतका दर्शकले समेत ट्रेडहरुको ट्विटमा प्रतिक्रिया दिदै नेपाली फिल्मलाई स्वागत गरे । जसले, नेपाली फिल्म पनि अब भारतीय बजारमा विस्तार हुन थालेका छन् भन्ने सन्देश दिएको छ । सामाजिक संजालमा दीपेन्द्र मात्र होइन, अधिकांश निर्माता, कलाकार, प्राविधिकहरुले ‘प्रेमगीत ३’को कदमलाई स्वागत गरेका छन् । कतिपयले भने अझै पनि यो कदममा शब्द कोर्न आवश्यक ठानेनन् ।

कतिपय मेकरहरु यसमा खुशी छन् भने कतिपय मेकरहरुमा डाहा पक्कै जन्मिएको होला । तर, सबैलाई एउटा कुरा के थाहा छ भने मिहिनेत गर्न सकियो भने अब नेपालका सय हलमा मात्र नेपाली फिल्म खुम्चिने छैन ।

विदेशी बजारमा पुस सेलमा टिकट विक्री गरेर नेपाली फिल्महरु देखाइएका छन् । एकाध शो चल्ने फिल्मले निर्मातालाई सन्तुष्टी दियो, लगानी फिर्ता गर्न सकेन ।

तर, भारतीय बजारमा निरन्तर रुपमा नेपाली फिल्म चल्न सकेको खण्डमा त्यसले नेपाली फिल्म बनाउन धनाढ्य व्यापारीदेखि राज्यलाई समेत झक्झकाउनेछ ।

निर्माता सन्तोष सेन अझै पनि फिल्मको यो सफलतामा नेपाली फिल्म क्षेत्रले खुलेर स्वागत गर्न नसकेकोमा दुःखी छन् । तर, नेपाली फिल्म बजारलाई भारतीय बजारमा मिहिनेतका साथ लैजान पाएकोमा भने उनी खुशी पक्कै पनि छन् ।
यो फिल्म नेपाल र भारतमा असोजको ७ गतेबाट रिलिज हुँदैछ । प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको फिल्म हिन्दी भाषामा विश्वभर रिलिज हुनेछ ।