नेपालमा ‘प्रकाश’, मुम्बइमा प्रदीप

Mero Film

हुन पनि हो, प्रदीप खड्कालाई यतिबेला मुम्बई शहर र भारतीय पत्रकारका क्यामेरा प्यारो लागिरहेको छ । भारतीय पत्रकारहरुका माझ उभिएर फिल्म ‘प्रेमगीत ३’को बारेमा बताइरहँदा प्रदीप दंग छन् । ‘प्रेमगीत ३’ हिन्दी भाषमा समेत भारतमा रिलिज हुने भएपछि प्रदीप मुम्बईमा छन् । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार, उनीहरु अब भारतका विभिन्न शहर पुग्ने तयारीमा छन् । यसैले, पनि प्रदीप तत्काल नेपाल फर्किहाल्ने छैनन् ।

तर, उनी मुम्बईमा रहेर फिल्म ‘प्रेमगीत ३’को प्रचारमा दौडिरहँदा उनले नै अभिनय गरेको फिल्म ‘प्रकाश’ पब्लिसिटीमा असर पक्कै परेको छ ।

‘प्रकाश’को नेपाल टुरमा पुगेर प्रदीपले ‘प्रेमगीत ३’को बारेमा कुरा गरेको पनि देखिएको हो । अब त झन्, उनलाई यो फिल्मको बारेमा नबोली सुखै छैन । किनकी, मुम्बई शहरसम्म पुगेको फिल्मको बारेमा नै प्रदीपका लागि बढी प्रश्न आउने पक्का छ ।

तर, यसले फिल्म ‘प्रकाश’को प्रचार भने सुस्ताएको छ । अब, यो फिल्मको कथा बोल्नुपर्ने देखिन्छ ।

श्रोतका अनुसार, निर्माता सन्तोष सेन ‘प्रकाश’ ‘प्रेमगीत ३’पछि मात्र रिलिज होस् भन्ने चाहन्थे । तर, उनले भने जस्तो भएन । एउटै नायकका २ फिल्म एक महिनाको अन्तरमा रिलिज हुँदा पक्कै पनि कुनै न कुनैलाई असर गर्ने निश्चित छ । अझ, दुई फिल्ममा मुख्य नायक फरक दुई भूमिकामा छन् ।

फिल्म चल्नका लागि ३ साता पनि बाँकी नरहेको र फरक कथामा बनेका फिल्मले पानी पनि भन्न नपाएको अवस्थामा प्रदीप ‘प्रकाश’का लागि बढी गम्भिर हुनुपर्नेछ । तर, दिनेश राउत निर्देशित तथा महेन्द्र अधिकारी निर्मित फिल्मका लागि भन्दा बढी प्रदीप आफूलाई स्टार बनाएको ब्रान्ड फिल्मको तेश्रो सिरिजका लागि नै बढी लोभिएको देखिन्छ ।


Leave a Reply

Your email address will not be published.