‘जोकर’ फ्रेञ्चाइजीमा गागा हार्ले क्वीन

हलिउड गायिका तथा अभिनेत्री लेडी गागाले आफू हलिउड फिल्म ‘जोकर’को फ्रेञ्चाइजीको हिस्सा हुने कुराको पुष्टि गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा फिल्मको म्युजिकल टिजर सेयर गर्दै ‘जोकरः फोली ए ड्युक्स’ को हिस्सा हुने घोषणा गरेकी हुन् । फिल्ममा लेडी जोकिन फिनिक्सको अपोजिटमा देखिनेछिन् ।

यो एक म्युजिकल फिल्म हुनेछ र लेडी हार्ले क्वीनको भूमिकामा देखिनेछिन् । गत ७ जुनमा फिल्मका निर्देशक टड फिलिप्सले स्क्रिनप्लेको कभर इन्स्टाग्राममा सेयर गर्दै फिल्मको सबटाइटल ‘फोली ए ड्युक्स’ रहेको खुलासा गरेका थिए ।
जोकिन फिनिक्स फिल्ममा जोकरकै भूमिकामा देखिनेछन् । जोकिनले सन् २०१९ मा रिलिज ‘जोकर’को पहिलो भागका लागि ओस्कारमा ‘बेस्ट एक्टर’को अवार्ड जितेका थिए ।

यो फिल्म ९२औं संस्करणको ओस्कारमा सर्वाधिक बढी विधामा मनोनीत भएको थियो । फिल्मको फ्रेञ्चाइजी टिजरमा लेडीको गीत ‘चीक टु चीक’लाई पाश्र्व संगीतका रूपमा राखिएको छ । यो गीत गागाको सांगीतिक करियरको सबैभन्दा शानदार गीत हो ।

फिल्म सन् २०२४ अक्टोबर ४ मा रिलिज हुनेछ । फिल्मको पहिलो भागले विश्वव्यापी रूपमा एक बिलियन डलरको कमाई गरेको थियो । फिल्मको कथा मानसिक रूपले बिरामी कमेडियन आर्थर फ्लेकको हो । उनको व्यक्तिगत र व्यावसायिक जीवनमा भएको एक घटनाले उनलाई अपराधको दुनियाँमा लैजान्छ ।