‘म’: सारांश बलियो, प्रस्तुति फितलो

विजय ‘आवाज’

ट्रेलरले नै केही फरक स्वाद बोकेपछि ‘म’ हेर्न म उत्साहित थिएँ । किनकी, ४ वटा गीत र ४ वटा एक्सनका दृश्यबाट पर थियो यो फिल्म । एकातिर फिल्म नै पढाउने कान्तिपुर फिल्म एकेडेमीको फिल्म, अर्कोतिर ‘सुनगाभा, मलामी’ जस्ता फिल्म र लघु फिल्म बनाएका सुवर्ण थापाको निर्देशन । उत्साहित नहुने कुरै भएन ।

एउटा कुरा निश्चित के हो भने, यो फिल्मले शुक्रबार फितलो व्यापार गर्यो । फिल्मको ट्रेलर र कलाकारको अनुहारलाई दर्शकले पत्याएनन् । शनिबार र आगामी दिनको व्यापार हेर्दै गरौंला । फिल्ममा कलाकारको अनुहार धेरै छ । नयाँ कलाकारदेखि नाम चलेका पुराना कलाकारसम्मको अनुहारले ‘म’ भित्र थुप्रै उपकथा छन् भन्ने लागेको थियो ।

फिल्म हेर्दै गर्दा पहिलो हाफ भारतीय टीभीमा देखिएका ‘क्राइम पेट्रोल र सीआइडी’ हेरे जस्तै लाग्यो । फिल्म भित्र निर्देशकको एउटै गती छ, अन्तिममा मुख्य पात्रले किन आत्महत्याको प्रयास गर्यो भनेर देखाउने । तर, दर्शकलाई यही कुरा देखाउनका लागि उनले १ घन्टा ५५ मिनेटका विभिन्न उपकथा बुनेका छन् ।

यसका लागि निर्देशकले थुप्रै पात्रसँग मुख्य पात्रलाई ठोक्काएका छन् । फिल्ममा जोडिन आएका सविन श्रेष्ठ, पूनम श्रेष्ठ, रुविना थापा सबै मुख्य पात्र संजोग रसाइलीको आत्महत्याको रहस्यमा जोडिदै जान्छन् । आइसीयूबाट बाहिर आएपछि संजोगले जुन कारण खोल्छ, त्यो कारण लगभग १ घन्टा ४५ मिनेट देखाइएका दृश्यसँग खासै मेल खादैन । अर्थात, करिब पौने २ घन्टा निर्देशकले मुख्य कथालाई रहस्यमा राख्न बिताएका छन् ।

फिल्म ‘म’ले एक जना पात्रको उकुसमुकुसलाई भन्छ । मानिसहरुले उसलाई विभिन्न दृष्टिकोणबाट हेरेपनि, उसभित्र निसास्सिएको भोगाई अर्कै छ । उ आफै भित्र ‘म’ खोजिरहेको छ ।

फिल्मको क्लाइमेक्समा देखाइएको कारण बलियो छ । तर, बलियो कारण भित्रको फितलो प्रस्तुति दर्शकका लागि जति ओझपूर्ण हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।

फिल्म हेरिरहँदा म आफैलाई निराजन प्रधानको अभिनयले प्रभावित बनायो । हुनत, उनी चकलेटी मोडल हुन् । तर, यो फिल्मपछि उनलाई धनाढ्य व्यापारी, प्रहरी अफिसर्सको भूमिकामा अफर बढी आउन सक्छ । नयाँ कलाकार संजोग रसाइलीले पनि आफूलाई अभिनयमा बलियो तरिकाले प्रस्तुत गरेका छन् । नयाँ कलाकार पूनम श्रेष्ठलाई लामो भूमिका नदिदा उनलाई मुल्यांकन गर्न अर्को फिल्म हेर्नुपर्नेछ ।

रुविना थापा, निशा अधिकारी सामान्य लाग्छन् । सविन श्रेष्ठले जिममा दैनिक वर्कआउट नगरेको भए सायद उनी यो फिल्ममा नजोडिन सक्थे । नरेन खड्कालाई जति भूमिका दिइएको छ, राम्रो छ । फिल्ममा सरिता लामिछाने, सरोज खनालको भूमिका पनि राम्रो छ ।

मैले सुने अनुसार, यो फिल्मको पहिले पनि केही प्रतिशत दृश्य खिचिएको थियो । सो समयमा मुख्य कलाकार संजोग रसाइलीलाई करिब १० वटा तरिकाले विभिन्न मानिसहरुले हेर्ने उपकथा बुनिएको थियो । अहिलेको ‘म’ हेर्दै गर्दा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले पुरानै कथा मिल्काएर गल्ती गरे कि भन्ने मलाई लागेको छ ।

फिल्ममा निर्देशकले निराजन माथि मात्र होइन, उनले निर्वाहा गरेको चरित्रमाथि पनि बढी विश्वास गरेका छन् । एउटा कम्पनीको सीइओलाई किन सीआइबीको जस्तो अनुसन्धानमा लगाइयो, स्पष्ट हुन दर्शक सक्दैनन् । निराजनको विगत यसमा थोरै जोडिदिएको भए राम्रो हुन्थ्यो ।

खैर जेहोस्, ‘म’ भन्ने फिल्मले बनिरहेका नेपाली फिल्म भन्दा केही फरक कथा भन्ने प्रयास गरेको पक्कै हो । यसका लागि कान्तिपुर फिल्म एकेडेमीलाई वधाई दिन सकिन्छ । तर, ‘म’ जस्तै फिल्म मात्र बनाएर कान्तिपुर फिल्म एकेडेमीले आफूलाई विश्वसनिय रुपमा फिल्म पढाउने एकेडेमीको रुपमा प्रस्तुत गर्न भने सक्दैन । यसका लागि अझै मिहिनेत गर्नुपर्ने देखिन्छ ।