के सुध्रिएकै हुन् त दुर्गेश थापा ?

गायक दुर्गेश थापाले सार्वजनिक गरेको ‘बिच्च बिच्चमा ६’ले उनले आफ्नो छवि सुधार्न खोजेको देखाएको छ । दुर्गेशले यसअगाडि ‘बिच्च बिच्चमा’का सिरिजमा विवादित शब्द, पहिरन लगाएर आलोचित बन्दै आएका थिए । तर, यसपटक भने उनले तीजको गीतमा महिला र पुरुषविचको विभेदको मुद्दालाई उठाएका छन् ।

बिशेषगरि घर, समाज र देशमा नै महिलालाई गरिने विभेद उनले उठाएका छन् । दुर्गेशको यसपटकको तीज गीतमा अश्लिलता छैन । पहिरनमा पनि उनी सजग देखिएका छन् । यस्तै, उनले महिला र पुरुषलाई विभेद होइन समान अधिकार दिनुपर्छ भन्ने मुद्दालाई जोडतोडका साथ उठाएका छन् । यसैले, पनि दुर्गेश अब आफ्नो छवि सुधार्न लागेका हुन् भने अनुमान लगाउन सकिन्छ ।

विवादित छवि, अन्तरवार्तामा कमजोर प्रस्तुति आदिका कारण सधै नै आलोचित बन्दै आएका दुर्गेश नायक पल शाहको घटनामा मुछिएपछि झनै ओझेलमा परेका छन् । पल शाहका फ्यानले मात्र होइन स्टेज कार्यक्रममा समेत उनलाई बहिष्कारको माग आएपछि उनले विगत केही महिनादेखि सुनसानको जीवन जिइरहेका छन् । उनै, दुर्गेशले यो गीतबाट आफ्नो बिषयमा बजारमा गरिने आलोचनालाई चिर्न खोजेको देखिन्छ ।