हिरोपछि मेकर बन्दै प्रकाश सपुत, मिडियासँग सम्बन्ध सुधार्दै

म्युजिक भिडियो र गायन क्षेत्रमा व्यस्त रहँदा प्रकाश सपुतको चर्चा नभएको होइन । तर, पहिलो पटक उनी विल्कुलै नयाँ क्षेत्रमा हात हालिरहेका छन्, जुन क्षेत्रमा उनलाई असफल हुने छुट छैन । यसैले पनि गायक सपुत केही गम्भिर छन् । असोजको १४ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘परदेशी २’का नायक हुन् प्रकाश । यो फिल्म चलेको खण्डमा उनको हिरो बन्ने सपना सफलताका साथ अगाडि बढ्नेछ ।

यो फिल्मपछि प्रकाश आफै पनि फिल्म बनाउने तयारीमा छन् । यसैले, उनको ध्यान गायन र मोडलिङसँगै फिल्म अभिनयमा पनि मोडिएको छ । नेपालमा गायकहरु हिरो बनेर सफल छैनन् । यसैले, प्रकाशको मनमा डर छ ।

प्रकाश मिडियाकर्मीसँग सम्बन्ध सुधार गर्ने बाटोमा पनि लागेका छन् । सार्वजनिक कार्यक्रम र गीत सार्वजनिक भएको समय बाहेक अन्य समय मिडियासँग टाढै बस्ने यी गायकले शुक्रबार बेलुकी केही मिडियाकर्मी, आफन्त, नजिकका फिल्मीकर्मी र लोककर्मीलाई बोलाएर पार्टी दिए ।

दोश्रो पटक बाबु बन्न लागेको खुशीमा उनले पार्टीको आयोजना गरे । यस्तै, प्रकाशले बैबाहिक जीवन दशौं बर्षमा प्रवेश गरेको खुशीमा पनि पार्टी आयोजना गरे । जहाँ, उनले मिडियाकर्मीलाई खुलेरै निम्ता गरेका थिए । एउटा कुरा के हो भने, फिल्ममा काम गरेपछि कलाकारको व्यक्तिगत मात्र होइन कामको पनि आलोचना र प्रशंसा मिडियाले नजिकबाट गर्ने गर्दछ । यसैले, प्रकाश फिल्म क्षेत्रमा पाइला राख्दै गर्दा केही गम्भिर भने देखिएकै छन् ।