हिट हुन हिट गीतको रिमेकको भर पर्दै ‘बले’

म्युजिक भिडियोमा कुनै समय राम्रै चर्चा कमाएका मोडल सागर लम्साल ‘बले’ पछिल्ला केही महिनादेखि भने खासै चलेका छैनन् । उनले, अभिनय गरेका भिडियोले दर्शकको साथ नपाउँदा उनलाई छटपटी त हुने नै भयो ।

उनले प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँग काम गरेको ‘तिम्रो मन बदलिएछ’ हिट भयो । यो गीत यश कुमारको स्वरमा पहिले नै हिट भैसकेको थियो । निकेश खड्काले उत्कृष्ट भिडियो बनाउँदा गीत र भिडियो दुबैले चर्चा पायो ।

तर, यो रिमेकपछि बलेले काम गरेका भिडियोले दर्शकको राम्रो साथ पाएका छैनन् । आफ्नै लगानीमा भिडियो बनाउन थालेपछि उनलाई अन्य ब्यानरको अफर पनि कम छ । यसैले, उनी हिट गीतकै रिमेक गरेर बजारमा चल्ने दाउमा छन् । हुनत, उनले ‘किन यसरी’ बोलको गीत पनि रिमेक गरे, तर चलेन ।

उनै, बलेले मोडल रेश्मा घिमिरेसँग जोडी बाँधेर ‘हिजो अर्कैसँग देखे’ बोलको गीतको भिडियो तयार पारेका छन् । यो गीत पनि यश कुमारको स्वरमा पहिले नै सुपरहिट भैसकेको थियो । बले अब पुराना हिट अडियोको साथमा चल्ने दाउमा छन् । हेरौ, बलेलाई यो दाउले कहिलेसम्म साथ दिने हो ?