नेपाली फिल्मलाई एक साता पनि हलमा टिक्न मुश्किल किन ?

Mero Film

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘म’लाई एक साता पनि फिल्म हलमा टिक्न मुश्किल परेको छ । शुक्रबारदेखि नै हलमा दर्शक नपाएको कान्तिपुर फिल्म एकेडेमीले बनाएको यो फिल्म मंगलबारसम्म आइपुग्दा हलमा उपस्थिती जनाउनका लागि मात्र राखिएको छ ।

फिल्ममा कलाकार पनि दर्शकले चिनेका नै थिए । फिल्मको ट्रेलरले पनि राम्रै चर्चा पाएको हो । प्रचारमा पनि निर्माताले सकेको गरेकै हुन् । तर, दर्शकले यो फिल्म हेर्न खासै रुची नै देखाएनन् । सुवर्ण थापा निर्देशित तथा निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा लगायतका कलाकारले अभिनय गरेको फिल्म बक्स अफिसमा पत्तासाफ नै भयो ।

हुनत, यो फिल्म मात्र होइन साउनको १३ गतेबाट रिलिजमा आएको फिल्म ‘पानी फोटो’को पनि हालत यस्तै छ । खगेन्द्र लामिछानेको निर्देशनमा बनेको यो फिल्मले दर्शक पाएन । फिल्मलाई पनि हलमा गतिलो फिल्म नभएका कारण प्रदर्शकले शो त दिएका छन्, तर दर्शक छैनन् । खगेन्द्र, अनुप बराल, मेनुका प्रधान, मलिका महत्त जस्ता कलाकार हुँदा पनि फिल्मले दर्शक तानेन ।

यो बर्ष फिल्म ‘कबड्डी ४’ पछि रिलिज भएका र त्यो अघि रिलिज भएका अधिकांश फिल्मको अवस्था यस्तै छ । अधिकांश फिल्म एक साता पनि हलमा टिकेका छैनन् ।

भदौ, असोज र कार्तिकमा फिल्मको बाढी नै छ । यी फिल्मको अवस्था के हुने हो भन्न सकिदैन । तर, दर्शकले हलमा फिल्म हेर्न खोजिरहेका छन् । जसले, कथा भनोस्, मनोरञ्जन दिओस् र मुड फ्रेस गराओस् ।

नेपाली फिल्म मेकर भने प्रयोगको नाममा अनेकथरी कथामा अल्झिदा यस्तो अवस्था आएको धेरैको वुझाई छ ।


Leave a Reply

Your email address will not be published.