‘कृष्णलीला’मा अटिजमको भूमिका निभाउँदा पुष्पले गरेका दुःख

नायक पुष्प खड्का आफूलाई हरेक फिल्ममा नयाँ र चुनौतीपूर्ण भूमिकामा देखाउन चाहन्छन् । पात्रमा डुब्नका लागि पुष्प आफूलाई घन्टौ सोही पात्रको मनोभावसँग खेलाउँछन् पनि ।

उनै, पुष्पले उत्कृष्ट नायकको रुपमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पाएको फिल्म ‘मंगलम’मा न्यूरोलोजिकल डिस अर्डरबाट पीडित यूवाको भूमिका निर्वाहा गरेका थिए । अब, भदौ ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कृष्णलीला’मा भने उनी अटिजम पीडित यूवाको भूमिकामा देखिदैछन् ।

यो फिल्म लिलासँग कृष्णको प्रेम र अटिजमका कारण समाजले ती यूवालाई गर्ने व्यवहारको वरिपरी घुमेको छ । पुष्प भन्छन्–‘यो भूमिका निक्कै चुनौतीपूर्ण थियो । फिल्मको अफर आउनसाथ मेरो दिमागमा केही मानिसहरु घद्धुमे । एकपटक एउटा भाईलाई म्युजिक भिडियो छायांकनका क्रममा भेटेको थिएँ । ती भाई बिस्तारै बोल्थेँ, अस्वभाविक हाँस्थे, अटिजमको लक्षण उनमा देखिएको थियो ।’ ती भाईलाई भेट्नका लागि पुष्पले उनका बाबुआमालाई फोन पनि गरे । तर, उनीहरुका बाबुआमाले छोरालाई एक मिनेट पनि पुष्पसँग बस्न दिन तयार भएनन् । पुष्प भन्छन्–‘मलाई उहाँहरुले छोरालाई एक मिनेट पनि बाहिर निस्कन नदिने बताउनुभयो । यसपछि, मलाई अटिजम मैले सोचेभन्दा पनि संवेदनशिल रहेछ भन्नु महशुश भयो ।’

बाबु आमाले भेट्न नदिएपछि पुष्पले ती भाइलाई आफै फोन गरेका थिए ।

पुष्प भन्छन्–‘मैले ती भाइलाई २ घन्टामा घरमै ल्यादिने भनेर बाबु आमालाई विश्वस्त तुल्याएपछि बल्ल भाइसँग गफ गर्ने मौका पाएँ ।’ पुष्पले ती भाइको हाउभाउलाई नजिकबाट नियाले, केही भिडियोहरु पनि खिचे । पछि ती भिडियोहरु छायांकनका क्रममा काम लागेको उनको भनाई छ । यो फिल्मका लागि पुष्पले आशान्त शर्मासँग १५ दिनको अभिनय तालिम समेत लिएका थिए । फिल्ममा बच्चा जस्तो व्यवहार देखाउनुपर्ने भएकाले पुष्पले ४ बर्षकी आफ्नी भान्जीसँग पनि समय बिताएका थिए ।

पुष्प भन्छन्–‘बच्चाहरु चन्चले हुन्छन् । हात खुट्टा दिमाग चाडो चल्ने हुन्छ । मैले भान्जीसँग समय बिताउँदा ती गतिविधी पनि नियालेँ ।’

पुष्पको दिमागमा अटिजमलाई लिएर धेरै कुरा खेल्न थालेका थिए । उनी भन्छन्–‘हाम्रो समाजमा यस्तो समस्या भएका व्यक्तिहरुलाई हेप्ने गरिन्छ, विश्वास गरिदैन । कतिपयले त मजाक समेत उडाउने गर्छन् । तर, यस्ता पात्रहरुलाई माया गर्नुपर्छ । उनीहरुलाई उनीहरुकै शैलीमा काम गर्न दिनुपर्छ । उनीहरुलाई यो संसारमा सम्मानका साथ बाँच्न दिनुपर्छ ।’

फिल्म छायांकनका क्रममा कतिपय दृश्यमा त पुष्प भक्कानिएका पनि छन् । उनले अगाडि भने–‘मैले यस अवधिमा अटिजम भएको पात्रलाई ५० प्रतिशत मात्र वुझ्न सकेँ जस्तो लाग्छ । मेरो अभिनय हेरेर दर्शकले अटिजमबारे २० प्रतिशतमात्रै पनि वुझ्नु भयो भने म सफल भएको मान्नेछु । पुष्पले जसरी ‘मंगलम’मा काम गर्दा न्यूरो डिसअर्डर भएको पात्रलाई बलियो तरिकाले पर्दामा निर्वाहा गरेका थिए, यसपटक अटिजम भएका पात्रको भूमिकाका लागि पनि शत प्रतिशत दिने कोशिश गरेका छन् । राम्रो अभिनय गर्नका लागि हिरोइज्म मात्र नभएर पात्रबारे गहिरो अध्ययन पनि आवश्यक पर्ने पुष्पको भनाई छ ।