के प्रदीप खड्का आफूलाई नेपालकै ‘ठूलो स्टार’ मान्छन् ?

बलिउडका ठूला स्टार हुन् या अहिलेका यूवा स्टार । अधिकांशले आफूलाई स्टार मान्दैनन् । भित्री मनमा उनीहरुको के कुरा खेल्छ, त्यो उनीहरुले नै जान्ने कुरा भयो । तर, मिडियामा उनीहरुले आफूलाई जहिले पनि शिकारु नै मानेको पाइन्छ ।

नेपालमा पनि स्टार कलाकार को भन्ने बहस नभएको होइन । उसो त, स्टार केका आधारमा भन्ने ? नम्बर १ कसलाई कुन आधारमा मान्ने भन्ने बहस पनि नभएका होइनन् । केही हप्ताको अन्तरालमा साउथका कलाकार रामचरणका दुई फिल्म रिलिज भए । ‘आरआरआर’ले बक्स अफिसमा कमालको व्यापार गर्यो, ‘चिरञ्जिबी’ सुपर फ्लप ।

नायक साहरुख खानको घर अगाडि दैनिक सयौं मानिस उनलाई हेर्न भीड गर्छन् । ट्विटरमा उनको ४ करोड भन्दा बढी फलोअर्स छन् । तर, बक्स अफिसमा उनका फिल्मले सय करोड पनि कमाउन नसकेको लामै समय भयो ।

‘बाहुबली २’बाट १५ सय करोडको कमाई गरेर सुपरस्टार कहलिएका साउथ स्टार प्रभाषको फिल्म ‘राधे श्याम’ले हलबाट मात्र सय करोड बढीको घाटा व्यहोर्यो । यसैले, स्टार र नम्बर १ को परिभाषा सहजै रुपमा दिन गाह्रो छ ।

नायक प्रदीप खड्काको फिल्म ‘प्रेमगीत ३’ भारतमा हिन्दी भाषामा रिलिज हुँदैछ । यसैले, प्रदीप यो फिल्मको प्रचारमा भारतमा बढी छन् । भारतीय अनलाइन बलिउड हंगामाले प्रदीपलाई नेपालको ठूलो स्टार भनिरहँदा यसको बाछिटा नेपालमा आइपुग्यो ।

एक दर्शकले प्रदीपको सामाजिक संजालमा ‘दयाहाङ राई सबैभन्दा ठूलो स्टार हुन्’ भनेर लेखिरहँदा प्रदीपले ‘यता कमेन्ट गरेको उता थाहा हुन्न’ भन्ने जवाफ दिए । उनको यो जवाफले उनी दयालाई नेपालकै ठूलो सुपरस्टार मान्न तयार छैनन् भन्ने दर्शाउँछ ।

केही दिन अगाडि उनले एक अनलाइनलाई दिएको अन्तरवार्तामा भनेका छन्–‘भारतीय मिडियाहरुले पैसा नलिइकन मलाई ठूलो स्टार भनेका हुन् । उनीहरुले रिसर्च पनि राम्रै गरेका होलान् । यसैले, म उनीहरुको कुरालाई सहर्ष स्विकार गर्छु ।’

उनको यो जवाफले पनि प्रष्ट के हुन्छ भने, उनी आफूलाई नेपालकै ठूलो स्टार मान्छन् ।

एउटा कुरा पक्का के हो भने, प्रदीप खड्का नेपाली फिल्ममा सर्वाधिक माग भएका कलाकार भने हुन् । ‘प्रेमगीत’को ब्रान्ड भन्दा बाहेक उनले सफल फिल्म दिन नसकेको कुरा पनि पक्का हो ।

भारतीय मिडियाले ‘नेपालकै ठूलो स्टार’ भनेर लेखिरहँदा प्रदीपले यसलाई स्विकार गरेका छन् । अब, नेपाली दर्शकले उनलाई कस्तो स्टारको रुपमा मान्छन्, त्यो नै अन्तिम निर्णय हो ।